झापा । 

 चैत महिनामा खाडीका ६ मुलुकमा संस्थागत रूपमा एक जना पनि नेपाली कामदार गएनन् । अमेरिका–इरान युद्धका कारण सरकारले नयाँ कामदारको श्रम स्वीकृति रोक्दा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, बहराइन र कुवेतमा संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृतिमा एक जना पनि जान सकेनन् । 

वैदेशिक रोजगार विभागले खाडी मुलुकमा पुनः श्रम स्वीकृति खुला गरे पनि नयाँ श्रम स्वीकृति नदिँदा नेपाली कामदार जान नपाएका हुन् । युद्ध सुरु भएको मुलुक इजरायल र लेबनानलगायतका देशका लागि समेत पुनः श्रम स्वीकृति खुला गर्ने सरकारी निर्णयले संस्थागत र नयाँ श्रम स्वीकृति रोक्नुको औचित्य नरहेको स्वयं वैदेशिक रोजगारीमा जाने कामदारहरूको भनाइ छ । 

संस्थागत रूपमा जाने श्रम स्वीकृति नपाउँदा ४० हजारभन्दा बढी युवा काठमाडौंमा अड्किनु परेको छ भने करिब ८ हजारको भिसा सकिने अवस्थामा छ । रोजगारदाताहरूको मागअनुसार कामदार पठाउन नसकेको अवस्थामा नेपाली श्रम बजार अर्को मुलुकले कब्जा गर्ने भन्दै आन्तरिक रोजगारीको अवस्था सुधार नहुँदासम्म वैदेशिक रोजगारीको चक्र यथावत् राख्नुपर्ने व्यवसायीहरूको निरन्तरको माग छ ।

चैतमा संस्थागत रूपमा ११ हजार ५ सय ५८ जना मात्रै गएका छन् । चैतमा मलेसियामा सबैभन्दा धेरै कामदार गएका छन् । १८ हजार ६ सय ४९ जना मलेसिया गएकोमा म्यानपावर कम्पनीमार्फत १० हजार २ सय ७० जना गएका छन् । चैतमा म्यानपावर कम्पनीमार्फत साइप्रस ८ सय ८५, मौरिसस २ सय ५०, जापान १ सय ४४ र मंगोलिया ९ जना गएका छन् ।

संस्थागत, पुनः श्रम स्वीकृति, व्यक्तिगत नयाँ तथा सरकारले पठाउने जिटुजी माध्यमबाट गरेर चैतमा ६१ हजार ८ सय १९ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चैतमा श्रम स्वीकृति नवीकरण गरेर सबैभन्दा धेरै युएई ११ हजार ४ सय ६३ जना, कतारमा ८ हजार ९ सय ५९ जना र साउदीमा ८ हजार ९ सय २० जना गएका छन् । 

यता चैतमा युरोपेली मुलुक रोमानियामा ४ हजार ४ सय ३८ जना गएका छन् । त्यसमा व्यक्तिगत श्रम स्वीकृतिमा ३ हजार ८ सय ४१ जना, नयाँ र पुनः श्रम स्वीकृतिमा ५ सय ९७ जना गएका छन् ।

चैतमा २४ वटा म्यानपावर कम्पनीले मात्र एक सय भन्दा वढी कामदार वैदेशिक रोजगारका लागि पठाएका छन् । चैत महिनामा सबैभन्दा धेरै कामदार पठाउने म्यानपावरमा वाइड स्पेस पहिलो भएको छ । जसले ५ सय ६९ जना कामदार पठाउन सफल भएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूची मुस्कान ओभरसिज छ जसले ३ सय ७७ जना पठाएको छ । 

यस्तै ३४४ जना कामदार पठाएर आर्कटिक ओभरसिज तेस्रो स्थानमा छ । विभागको तथ्याङ अनुसार ५६९ जना देखि १०२ जना वैदेशिक रोजगारका लागि कामदार पठाउने २४ वटा मात्र म्यानपावर छन् ।