झापा ।
झापाको बिर्तामोडस्थित बिर्तामोड चिल्ड्रेन अस्पतालले नव वर्ष २०८३ को अवसर पारेर बालबालिकालाई लक्षित गर्दै विशेष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।अस्पतालले वैशाख ७ गतेदेखि २१ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको आज (शुक्रवार) पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचार सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको अस्पतालले शिविर अवधिभर ओपीडी सेवा निःशुल्क प्रदान गर्ने र अन्य ल्याब परीक्षणमा २० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने अस्पतालकी प्रमुख कार्यकारी अधृति डा. सुजता मैनाली आचार्यले जानकारी दिइन् ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा आचार्यका अनुसार नवजात शिशुदेखि बालबालिकासम्मका बिरामीलाई लक्षित गरी विशेषज्ञ चिकित्सक टोलीबाट सेवा प्रदान गरिनेछ। साथै, बाल रोग तथा पोषणसम्बन्धी समस्याको पहिचान र उपचारमा विशेष ध्यान दिइने जनाइएको छ।
शिविरमार्फत आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकालाई राहत पुर्याउने उद्देश्य राखिएको अस्पतालका प्रबन्ध निर्देशक डा. रुपक आचार्यले बताए । विपन्न तथा ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीलाई स्थानीय तहको सिफारिसमा थप छुटको व्यवस्था गरिने समेत डा. आचार्यले जानकारी दिए ।
अस्पतालले आधुनिक उपकरणसहित २४ सै घण्टा सेवा प्रदान गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने जनाएको छ। अस्पतालकी अध्यक्ष लीला मैनालीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अस्पतालका सल्लाहकार संयोजक मदनगोल सुब्वाले पनि आफ्ना भनाईसहित शुभकामना मन्तव्य राखेका थिए ।


















