बिर्तामोड ।
पछिल्लो केही समय यता अमेरिका–इरान युद्धसँगै सरकारले श्रम स्वीकृति रोकेपछि झापाको बिर्तामोडमा रहेका म्यानपावरका शाखा कार्यालयसहित देशैभरका म्यानपावर कम्पनी र त्यसका शाखा कार्यालय धमाधम बन्द हुन थालेका छन् । युद्धसँगै सरकारले खाडी लगायतका देशमा जान श्रम स्वीकृति रोकेसँगै म्यानपावर कार्यालय बन्द हुन थालेका छन् ।
श्रम नहुँदा भिषा लागेका युवाहरु वैदेशिक रोजगारका जान सकेका छैनन् । भिषाको समय कतिपयको सकिन लागेको छ, वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकले बताए ।
उनका अनुसार यो समस्या हल नभएसम्म बिर्तामोडमा सञ्चालनमा रहेका म्यानपावरका शाखा कार्यालयहरु बन्द हुने अवस्थामा छन् । मेनपावर बन्द हुँदा सयौँले रोजगारी गुमाउने उनको भनाई छ । बिर्तामोडका अधिकांश मेनपावर व्यवसायीले कर्मचारीहरूलाई वैशाखदेखि बिदा दिने तयारी गरेका छन् ।
राज्यको नीतिका कारणसमेत वैदेशिक रोजगार व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको पन्धाकले बताएका छन् । नेपालमा ११ सय हाराहारी मेनपावर कार्यालय रहेकोमा ३ दर्जन मेनपावरले मात्र न्यून संख्यामा निःशुल्क भिषाको डिमान्ड ल्याउने हुँदा सरकारको नीति नै अव्यवहारिक भएको अध्यक्ष पन्धाकले बताए । सरकारले फ्री भिषामा कडाई गरेमा युवाहरु असुरक्षित आप्रवासनतर्फ आकर्षित हुन बाध्य हुने उनले बताए ।
सरकारले दश हजार भन्दा बढी शुल्क लिनमा कडाई गर्नुका साथै विमानस्थलमा देखाउनु पर्ने कागजातमा समेत कडाई गरेपछि वैदेशिक रोजगार व्यवसायी अफ्ठ्यारोमा परेका छन् । बिर्तामोडमा मात्र १५० हाराहारी मेनपावरका शाखा कार्यालय रहेका छन् । युद्धका कारण श्रम स्वीकृति बन्द हुँदा अहिले झापासहित देशभरका म्यानपावर कम्पनी र त्यसका शाखा कार्यालय समस्यामा परेका छन् ।


















