झापा । 

वैदेशिक रोजगारीमा जाने श्रमिकसँग अभिमुखीकरण तालिमका नाममा तोकिएकोभन्दा बढी शुल्क असुलिएको गुनासो बढेपछि वैदेशिक रोजगार विभागले कडाइ गर्ने चेतावनी दिएको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै अभिमुखीकरण तालिमको शुल्क प्रति प्रशिक्षार्थी ७ सय रुपैयाँ नै कायम रहेको स्पष्ट पारेको छ । विभागका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को दफा १६ अनुसार दुई दिन सञ्चालन हुने उक्त तालिमका लागि यही शुल्क निर्धारण गरिएको हो र यसमा कुनै वृद्धि गरिएको छैन ।

यद्यपि पछिल्लो समय केही तालिम प्रदायक संस्थाले २ हजार १ सय रुपैयाँसम्म लिने गरेको गुनासो आएपछि विभागले ध्यानाकर्षण भएको जनाएको छ । विभागले तोकिएको शुल्कभन्दा बढी रकम असुल नगर्न सबै मान्यता प्राप्त संस्थालाई सचेत गराएको छ । 

यदि कुनै संस्थाले ७ सय रुपैयाँभन्दा बढी शुल्क लिएको प्रमाण भेटिएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा सम्बन्धित नियमावली र कार्यविधिअनुसार त्यस्ता संस्थाको अनुमति (इजाजत पत्र) स्वतः खारेज गरिने सूचना जारी गर्दै जनाएको छ ।