झापा ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको न्यूनतम मापदण्ड तयार गरी थप ५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय गरेको छ ।
श्रममन्त्री दीपककुमार साहको उपस्थितिमा मन्त्रालयमा आइतबार बसेको बैठकमा मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमाथि छलफल भएको थियो । उक्त छलफलपछि थप ५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय भएको हो । श्रम सम्झौता गरिने मुलुकहरू भने खुलाइएको छैन ।
सो अवसरमा श्रम तथा रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित एवं सुरक्षित बनाउने विषयमा केन्द्रित छलफल भएको मन्त्रालयले जनाएको छ । श्रमिकको हकहित संरक्षणका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको सुरक्षा, न्यूनतम ज्यालाको सुनिश्चितता, कार्यस्थल सुरक्षा, कार्य वातावरण तथा स्वास्थ्य सुरक्षाको अवस्था अध्ययन गरिने उल्लेख गरिएको छ ।
उक्त अध्ययनका आधारमा वैदेशिक रोजगारीको न्यूनतम मापदण्ड तयार गर्ने निर्णय गरिएको छ । साथै, रोजगारी सिर्जनामा सहयोग पुग्ने गरी सीप विकास तालिम प्रदान गरी रोजगारमा आबद्ध हुने अवसर सिर्जना गर्ने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी नियन्त्रण गर्ने, सेवा प्रवाहलाई सूचना प्रविधिमा आबद्ध गरी सेवाको लागत र समय घटाउनुपर्नेलगायतका विषयमा पनि छलफल भएको छ ।


















