झापा ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ गरी मौसमी कामदार भिसामा दक्षिण कोरिया पठाइदिने भन्दै रकम असुल गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । लाजिम्पाटस्थित के एन्ड सी इन्टरनेसनल प्रालिमा एक लाख रुपैयाँ लिँदै गर्दा अध्यागमन विभागले ४७ वर्षीय जगत गुरुङलाई बिहीबार पक्राउ गरेको हो ।
वैदेशिक रोजगार विभागको अभिलेखमा गुरुङ के एन्ड सी इन्टरनेसनलकै कर्मचारीका रूपमा छन्, तर उनी सो म्यानपावरको हर्ताकर्ता नै हुन् । वैदेशिक रोजगार विभागले विदेशमा एक वर्षभन्दा कम अवधिको भिसामा श्रम स्वीकृति नदिने भएपछि गुरुङले अध्यागमनको सेटिङ गरेर पठाइदिने भनेर रकम असुल्ने गरेको अध्यागमन विभागमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा रकम असुल्दै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
विगतमा विभिन्न स्थानीय तहले कोरियामा मौसमी कामदार पठाउने मुख्य उद्देश्य राखेर भगिनी सम्बन्ध कायमा गरेका थिए । तर वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार श्रम स्वीकृति दिने अधिकार केवल विभागलाई मात्रै भएको भन्दै ६ महिनादेखि ८ महिनाका लागि सिजनल भिसामा श्रम स्वीकृति दिन नसकिने निर्णय गरेको थियो । मौसमी कामदार कार्यक्रमले विदेशी कामदारहरूलाई ई–८ भिसा अन्तर्गत ५ देखि ८ महिनासम्म कृषि वा माछापालनमा कानुनी रूपमा काम गर्न अनुमति दिन्छ ।
सामान्यतया फिलिपिन्स, भियतनाम र थाइल्यान्ड जस्ता देशहरूबाट मौसमी कामदारहरू जाने गरेका छन् । उनीहरूलाई हप्तामा ४८ घण्टासम्म काम गर्न दिने गरिएको छ । नेपालमा भने स्थानीय जनप्रतिनिधि नै वैदेशिक रोजगारका एजेन्ट बनेर लाखौं रुपैयाँ उठाएको सार्वजनिक भएपछि दक्षिण कोरियाको मौसमी कामदार प्रक्रिया अवरुद्ध भएको छ ।


















