झापा ।
मलेसियामा एक नेपाली कामदारले छुरा प्रहार गरेर सहकर्मीको हत्या गरेका छन् । पेनाङ राज्यको पर्माताङ तिङ्गीमा रहेको कम्पनीको होस्टेलमा एक २५ वर्षीय नेपालीले आफ्नै नेपाली सहकर्मीको हत्या गरेका हुन् ।
प्रहरीले उनलाई पक्राउ गरेको छ । उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न स्थानीय अदालतले अनुमति दिएको छ । न्यायाधीश सविन्दर सिंह र जुगिन्दर सिंहले मलेसियन अपराध संहिताको धारा ३०२ अन्तर्गत अनुसन्धानका लागि उनलाई मार्च २९ तारिखसम्म हिरासतमा राख्न आदेश दिएका हुन् ।
आरोप पुष्टि भएमा उनलाई मृत्युदण्ड वा ३० देखि ४० वर्षको जेल सजाय हुनेछ । पीडित र अभियुक्त दुवै जनाले हाँस प्रशोधन कारखानामा काम गर्दै आएका थिए । उनीहरूबीच होस्टेलमा झगडा भएको बताइएको छ ।
प्रहरीले आक्रमणमा प्रयोग भएको छुरीसमेत बरामद गरेको छ । पीडितको करङमा छुरा प्रहार गरिएको पोस्टमार्टमबाट देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

















