झापा । 

मलेसियामा सुरक्षा गार्डमा काम गर्ने नेपाली कामदारहरूले अन्याय भइरहेको गुनासो गरिरहेका छन् । मलेसियामा नेपालीहरू सुरक्षा गार्ड, उत्पादन, कृषि, होटल तथा अन्य क्षेत्रमा कार्यरत रहेका छन् । उनीहरू सबैले मलेसिया सरकारले तोकेको न्यूनतम मासिक १७ सय रिंगेट पाइरहेका छन् ।

स्थानीय मुद्रा र अमेरिकी डलरको मूल्य वृद्धिका कारण तलब बढ्दा उनीहरू थप लाभान्वित भएका छन् । तर सुरक्षा गार्डको काम गर्ने नेपालीहरूले तोकिएको तलब नपाएको र नेपाली दूतावासले तलब नदिने कम्पनीमाथि कारबाही नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले शुक्रबार सञ्चालन गर्ने साप्ताहिक फेसबुक कार्यक्रममा सहभागी अधिकांश नेपालीले सेक्युरिटी कम्पनीहरूले तोकिएको सेवा–सुविधा नदिँदा पनि अनुगमन र कारबाही नगरेर दूतावासले फेसबुक लाइभमा बसेर समयको बर्बादी मात्र गरेको गुनासो गरेका छन् ।

उनीहरूले जी सेक्युरिटी, रेड इगल सेक्युरिटी, मास सेक्युरिटी गार्ड जस्ता कम्पनीहरूले तोकिएको तलब नदिएको, बिना तलब अतिरिक्त समय काम गराएको, हप्ताको एक दिन बिदा नदिएको बताएका छन् । केही कम्पनीविरुद्ध बढेको तलब र बिदा नदिएको उजुरी ह्वाट्सएप र इमेलमार्फत दैनिक सयौंको संख्यामा दर्ता हुने गरेका छन् ।

नेपाली सुरक्षा गार्डहरूलाई १२ घण्टासम्म काम लगाएर १७ सयदेखि बढीमा दुई हजार रिंगेटसम्म तलब दिएको समाचार मलेसियाली सञ्चारमाध्यमहरूमा पनि आउने गरेका छन् ।

नेपाली दूतावासमा कार्यरत काउन्सिलर (श्रम) कृष्णप्रसाद भुसालले मलेसियामा सुरक्षा गार्डको समस्या समाधानका लागि पहल भइरहे पनि पूर्ण समाधान हुन नसकेको, तर दूतावास चुप लागेर नबसेको बताएका छन् ।