झापा ।
देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् ।आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिने गरिन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय गरिन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको छ । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।
इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ ।
एक महिना अघिदेखि मुस्लिम समुदायको एक महिना लामो ब्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो ब्रत गरिने मुस्लिम धर्मालम्बीहरुको भनाई छ । एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म ब्रत गरेर साँझ चन्द्रमाको पूजा गरिएको थियो ।
यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।


















