झापा ।
ठुलो संख्यामा नेपाली कामदार कार्यरत खाडी मुलुक तथा पश्चिम एसियाली मुलुक युद्धको चपेटामा परेको बेला मलेसियाको वैदेशिक रोजगारमाथि चाप र दबाब बढेको छ । अन्यत्रको वैदेशिक रोजगार संकटमा परेको अवस्थामा मलेसियाको रोजगारी सुरक्षित हुँदा धेरैको ध्यान त्यसतर्फ आकर्षित भएको छ ।
नेपाल राष्ट्र बैंकले केही समयअघि गरेको अध्ययनअनुसार कुल वैदेशिक रोजगारमा जाने कामदारमध्ये मलेसिया जानेको संख्या २८.८ प्रतिशत थियो । अर्थात् वैदेशिक रोजगारमा एक सय जना कामदार जाँदा मलेसियामा २९ जना कामदार जाने गरेका थिए ।
युद्धका कारण कतार, साउदी अरब, युएई, कुवेत र बहराइन जाने कामदार रोकिएपछि त्यसको विकल्प पनि मलेसिया बन्ने देखिएको छ । मलेसियामा नेपालीहरू म्यानुफ्याक्चरिङ, सेक्युरिटी गार्ड, कृषिलगायतका रोजगारीमा छन् । राष्ट्र बैंकको उक्त अध्ययनको समयमा सञ्चालनमा रहेकामध्ये करिब ६८.५ प्रतिशत म्यानपावर कम्पनीले मलेसिया कामदार पठाउने गरेका थिए ।
नेपालीमात्रै नभएर खाडी मुलुकमा कामदार पठाउँदै आएका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, फिलिपिन्स, भियतनामलगायतबाट पनि कामदार मलेसिया जाने गरेका छन् । ती देशबाट जाने कामदार नेपाली कामदारका प्रमुख प्रतिस्पर्धी मानिन्छन् । ती मुलुकहरूले पनि मलेसियामा श्रम बजार खोज्दा मलेसियाको रोजगारी महँगो हुने र अनुचित प्रतिस्पर्धाले नेपाली कामदारको लागत बढ्ने कतिपयको विश्लेषण छ । मलेसियाले भने कुल श्रम जनशक्तिको १५ प्रतिशतमा नबढ्ने गरी विदेशी कामदार श्रम बजारमा लगाउने नीति लिएको छ ।
न्यूनतम मासिक पारिश्रमिक बढेको र मलेसियाको अर्थतन्त्रले प्रगति गर्दा अमेरिकी डलरको तुलनामा मलेसियाको मुद्रा रिंगेट बलियो बनेका कारण पनि मलेसिया पछिल्ला महिनामा स्वाभाविक रूपले आकर्षक गन्तव्यका रूपमा रहेको थियो ।
यसैबीच मलेसियाले विदेशी कामदार कोटा आवेदनका लागि निर्धारण गरिएको ३१ मार्च २०२६ को अन्तिम मिति खारेज गरेको घोषणा गरेको छ । यसअघि निर्धारण गरिएको अन्तिम मिति खारेज भएपछि रोजगारदाताहरूले सरकारको प्रचलित नीति र आवश्यकताको अधिनमा रहेर कुनै निश्चित समयसीमा बिना आवेदन पेस गर्न सक्छन् । ६ मार्च २०२६ मा जारी गरिएको पछिल्लो सूचनाले विदेशी कामदार भर्ना प्रक्रियामा रहेकोे समयसीमाको दबाब हटाएको छ ।


















