हल्दीवारी ।
झापाको हल्दीबारी गाउँपालिका–२ पाराखोपीमा घरमै सुतिरहेको अवस्थामा आँपको रुख ढल्दा ज्यान गुमाएकी १७ वर्षीया छात्रा आरती राजवंशीका परिवारलाई ढडुवा युवा क्लबले आर्थिक सहयोग गरेको छ।
मृतक आरती स्थानीय प्रेमलाल राजवंशीकी छोरी हुन्। प्रहरीका अनुसार गए राति घरमा सुतिरहेको अवस्थामा घर नजिकै रहेको ठूलो आँपको रुख अचानक ढल्दा किचिएर उनको घटनास्थलमै दुःखद मृत्यु भएको थियो।
दिवंगत आरती हल्दीबारी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् र यस वर्ष हुने एसईई परीक्षाको तयारी गरिरहेकी एक मेधावी छात्रा थिइन्। प्राकृतिक विपत्तिका कारण उज्ज्वल भविष्यको सपना बोकेकी किशोरीको असामयिक निधन भएपछि गाउँ नै शोकमग्न बनेको छ। विद्यालय परिवार, स्थानीयवासी तथा साथीभाइहरूले यस घटनालाई अत्यन्त दुःखद र स्तब्ध बनाउने घटना भएको बताएका छन्।
यस पीडादायी घटनापछि ढडुवा युवा क्लब परिवार, हल्दीबारी–३ ले मानवीय संवेदनासहित पीडित परिवारलाई सहयोग गर्ने निर्णय गर्दै आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। विभिन्न व्यक्तित्व तथा स्थानीय युवाहरूबाट संकलित रकम घटना भएको २४ घण्टा नबित्दै क्लबका प्रतिनिधिहरू मृतकको घरमै पुगेर १५ हजार ५ सय ५५ रुपैयाँ मृतकका बुबाआमा तथा परिवारजनलाई हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरण कार्यक्रममा ढडुवा युवा क्लबका अध्यक्ष कुलबहादुर न्यौपाने ९गोपाल०, सचिव अभिषेक खतिवडा लगायत सामाजिक व्यक्तित्वहरू मनवीर कार्की, ओम भट्टराई, भोजराज ढुंगेल, रुद्र भट्टराई, गणेश नेम्वाङ, जनक राजवंशी सहित स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै क्लबका सचिव अभिषेक खतिवडाले दुःखद घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्दै पीडित परिवारको पीडामा साथ दिन क्लबले तत्काल आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको बताए। उनले यो सहयोग मानवीय संवेदनाको सानो प्रयास मात्र भएको बताउँदै आगामी दिनमा पनि आवश्यक परे थप सहयोग जुटाउने पहल जारी रहने जानकारी दिए।
सहयोग हस्तान्तरणका क्रममा उपस्थित युवाहरूले दिवंगत छात्रा आरती राजवंशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका थिए। साथै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दुःखको यस घडीमा सबै एकजुट भएर साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्थानीयवासीका अनुसार पछिल्लो समय ढडुवा युवा क्लबले समाजमा विभिन्न सामाजिक, मानवीय तथा परोपकारी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। प्राकृतिक विपत्ति, सामाजिक समस्या तथा मानवीय सहयोगका क्षेत्रमा क्लबले सक्रिय भूमिका निर्वाह गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको उनीहरूले बताएका छन्।


















