झापा । 

साउदी अरबमा रहेको नेपाली नागरिकलाई सजग र सतर्क रहन आग्रह गरिएको छ । साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरबमा बसोबास तथा रोजगारीमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सजग र सतर्क रहन आग्रह गरेको छ ।

 साउदी अरबका आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनालाई मात्र आधार मानेर आवश्यक सावधानी अपनाउन सबै नेपालीलाई दूतावासले बुधबार एक सूचना जारी गर्दै अनुरोध गरेको हो ।

सूचनामा अपुष्ट वा आधिकारिक रूपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, जानकारी, फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न विशेष आग्रह गरिएको छ । यस्ता गतिविधिले अनावश्यक भ्रम फैलिन सक्ने भएकाले जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न नेपाली समुदायलाई सचेत गराइएको छ ।

त्यसैगरी सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान, संरचना वा वस्तुको फोटो नखिच्न र भिडियो नबनाउन पनि दूतावासले आग्रह गरेको छ । कुनै समस्या परेमा वा थप जानकारी आवश्यक परेमा नेपाली नागरिकले रियादस्थित दूतावास तथा जेद्दास्थित महावाणिज्य दूतावासमा सम्पर्क गर्न सकिने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।