बिर्तामोड । 

झापाको अर्जुनधारा नगरपालिका–१ स्थित श्रीशङ्कराचार्यपीठ साधुटारमा तीन दिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव आयोजना हुने भएको छ । फागुन २८ देखि  ३० गतेसम्म तीन दिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव  आयोजना गर्न लागिएको हो । 

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भ पारेर पर्यटन वन तथा बातावरण मन्त्रालयको संरक्षकत्व र नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल पर्यटन बोर्डको समेत सहकार्यमा पर्यटन महोत्सव हुन लागेको आज (मंगलबार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

महोत्सवमा भारतबाट २० जना तथा नेपालका विभिन्न जिल्लाबाट ५० जना श्रष्टाहरूको सहभागीता रहने आयोजक त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य पर्यटन महोत्सव २०८२ का संयोजक डा. गोपीकृष्ण खतिवडाले जानकारी दिए । प्रा.डा टंकप्रसाद न्यौपाने, प्रा. डा. देवी नेपाल, प्रा.डा. नारयण गड्तौला, डा. कर्णाश्वर क्षतिवडा, डा. दीपकप्रसाद न्यौपाने, सह–प्रा महेश पौडेल र शिव रेग्मी प्रणतको विषय विज्ञका रुपमा उपस्थिति रहने बताइएको छ ।

 यसैगरी प्रसिद्ध भजन गायक जुनियर अनुप जलोटा, ख्यातिप्राप्त गजलकार समन स्मारिका, अनन्त प्रनुराग, रोहित पराई, राधा पाण्डे एवम् छन्द कवि टीका आत्रेय र छवि वैरागी लगायतका श्रष्टाहरुका साथै मिस कस्मो २०८२ का विजेता दीशिक्षा नेपालको समेत विशेष प्रस्तुति रहने कार्यक्रमको मूल समारोहको प्रमुख आतिथ्य पर्यटन, वन तथा बातावरण मन्त्रालय, कोशी प्रदेशका मन्त्री भीम पराजुली रहने डा. खतिवडाले बताए । 

नेपालको एक मात्र शङ्कराचार्यपीठ साधुटार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने, पूर्वीय दर्शन वेद र उपनिषदमा आधारित साहित्यिक विचार विमर्श मार्फत बौद्धिक पर्यटनको विकास गर्ने, नेपाल भारतलगायत अन्य देशका विद्वान सन्त, महन्त र साहित्यकारहरूका विच वैचारिक तथा सांस्कृतिक आदान–प्रदान गर्ने, साधुटार क्षेत्रको भौतिक तथा अध्यात्मिक पूर्वाधार विकासका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराउने, कोेशी प्रदेश पर्यटन वर्ष २०८२ र संस्थाको स्वर्ण मोहोत्सव वर्ष २०८२ भव्य रूपमा सम्पन्न गर्ने, साहित्यक संघसंस्थाहरुका विच समन्वय गरी सहकार्यको संस्कृति विकास गर्ने उदेश्यका साथ महोत्स आयोजना गरिएको शङ्कराचार्यपीठ साधुटारका संथापक लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए । 

फागुन २८ साँझ ६ बजेदेखि १० बजेसम्म विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिने छ । जसमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । २९ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म झापा जिल्लाका विभिन्न गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूलाई छन्द तथा गद्य कविता लेखन प्रशिक्षण दिइने छ भने सोही दिन बेलुका ६ः३० बजे देखि १० बजेसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरूद्वारा भजन तथा गजल प्रस्तुत गरिनेछ । 

फागुन ३० गते मूल समारोह सम्पन्न गरिने छ । जसमा साहित्य तथा पर्यटन सम्बन्धी तीन ओटा कार्यपत्रहरू प्रस्तुत गरिने छन् ।कार्यक्रम अवधिभर पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनीसहित जनचेतना जागृत गराइने छ । त्रिदिवसीय योग शिविर विहान ४ देखि ६ बजेसम्म सम्पन्न गरिने छ । आश्रममा दैनिक सम्पन्न हुने नित्य वैदिककर्मको विशेष प्रस्तुति रहने छ।

महोत्सव कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी प्रदेश पर्यटन वर्ष २०८२ को मूल नारालाई सार्थकता प्रदान गर्न तथा श्री शङ्गराचार्यपीठ साधुटार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न कोसेढुङ्गा साबित हुने विश्वास आयोजकले गरेको छ ।