झापा । 

इरानमा अमेरिकी तथा इजरायली आक्रमण र प्रत्याक्रमण जारी रहँदा वैदेशिक रोजगारको चक्रमा रहेका नेपाली कामदारको सास्ती बढेको छ । नेपाल सरकारले श्रम स्वीकृति रोकेका कारण नेपालबाट जान नपाएकाहरूको स्वदेशमा छट्पटी बढेको छ भने श्रम गन्तव्य मुलुकबाट  उडान रद्द हुँदा स्वदेश फर्किन चाहनेलाई समस्या परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले हाल दैनिक डेढ दर्जन हाराहारीमा उडान रद्द भइरहेको जनाएको छ । सोमबारमात्रै नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरलाइन्स, जजिरा एयरवेज, एयर अरेबिया, फ्लाइ दुबईका विभिन्न रुटका उडान रद्द भएका छन् । यसले ३० भन्दा बढी आगमन र प्रस्थान गर्ने उडान प्रभावित हुने गरेको छ ।

कुवेतस्थित नेपाली दूतावासले कुवेतको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भन्दै अद्यावधिक सूचनाका लागि कुवेतको उड्डयन प्राधिकरणको वेबसाइट हेर्न र सम्बन्धित वायुसेवा प्रदायक ट्राभल एजेन्सीसँग निरन्तर सम्पर्क राख्न भनेको छ ।

दूतावासले पश्चिम एसियाली देशहरूमा विकसित परिस्थिति मध्यनजर गर्दै सजगता अपनाउन नेपालीलाई अनुरोधसमेत गरेको छ । नेपाली दूतावासले कुवेत सरकारले भिजिट भिसावाहकको भिसा एक महिनाका लागि थप गरेको र सिभिल आइडीसम्बन्धी अवधि ३ महिना थप गरेकाले त्रसित नहुन र नेपालीलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परे दूतावासले नियमित खुला रहेको जनाएको छ ।

इरानले अघिल्लो हप्ता छिमेकी मुलुकमाथि आक्रमण नगर्ने बताएपछि केही राहत महसुस गरेपनि सोमबार टर्कीको हवाई क्षेत्रमा मिसाइल प्रवेश गराएको छ । युएईको विदेश मन्त्रालयले यो घटना एक हप्ताभन्दा कम समयमा टर्कीलाई लक्षित गर्ने दोस्रो प्रयास भएको बताएको छ । आक्रमणलाई ‘राज्यको सार्वभौमसत्ताको स्पष्ट उल्लंघन’ र क्षेत्रीय सुरक्षाका लागि खतरा भनेको छ । यसले छिमेकी र मित्र राष्ट्रहरूमाथि निरन्तर आक्रमणहरू अस्वीकार्य रहेको र त्यसले क्षेत्रभरि तनाव बढाउने जोखिम रहेको चेतावनी दिएको छ ।