झापा । 

प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको पूर्व सन्ध्यामा आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीहरू पुगिसकेको जानकारी दिएका हुन् ।

उनले २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पारे । भण्डारीकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । यसका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्रीहरू सम्बन्धित मतदान केन्द्रहरूमा सुरक्षित रूपमा पुर्‍याइसकिएको छ ।

मतदान केन्द्रहरूको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान स्थलहरूलाई लैंगिक तथा अपांगमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको बताए । 

मतदाताले निर्वाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको अत्यन्तै भरपर्दो प्रवन्ध मिलाइएको आयोगले जनाएको छ ।