झापा ।
परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व र खाडी देशहरूमा कार्यरत नेपालीलाई बाध्यात्मक अवस्था उत्पन्न भए समुद्री मार्गबाट घर फर्काउने विकल्पमा छलफल भइरहेको बताएका छन् ।
बीबीसीसँगको कुराकानीमा उनले अहिले नै खाडीका देशमा रहेका नेपाली कामदारहरूलाई उद्धार गरिहाल्नुपर्ने अवस्था नदेखिएको बताए । हाल सो क्षेत्रमा वैधानिक हैसियतमा रहेका साढे १७ लाख बढी र अवैधानिक हैसियतमा रहेका गरी ठुलो संख्यामा नेपाली रहेका छन् ।
परराष्ट्रमन्त्री शर्माले खाडीका मुलुकहरूमा रहेका नेपालीहरूलाई ओमान ल्याएर त्यहाँबाट जलमार्ग हुँदै भारत र त्यसपछि स्वदेशसम्मको यात्राको मार्गबारे विचार गरिएको बताए । मन्त्री शर्माले यस विषयमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वयात्मक रूपमा योजना बनाइरहेको बताए ।
मन्त्री शर्माले खाडी र मध्यपूर्वका सबै देशका दूतावासहरूलाई त्यहाँ रहेका नेपाली समुदायसँग सम्पर्कमा रहन निर्देशन दिइएको भन्दै ‘समन्वयात्मक ढंगले उद्धार योजना’ पनि बनिरहेको जानकारी दिए ।
धैरैवटा मुलुक भएपनि भौगोलिक क्षेत्रफल हेर्दा लामो नभएको भन्दै मन्त्री शर्माले हाल खुला रहेका साउदी अरेबिया र ओमानको विमानस्थल पुग्न बाहराइन, कुवेत, युएई र कतारबाट चार घण्टामा पुग्न सकिने समेत उल्लेख गरे । उनले आवश्यक परे आन्तरिक सडक मार्गबाट ओसारेर पनि उद्धार गर्न सकिने बताएका छन् ।


















