धुलाबारी ।  

मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य मेचीनगर–९ मा सञ्चालित पारिजात पब्लिक स्कूलले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती)  कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच एसईईमा उत्कृष्ट भएका विद्यार्थी, उत्कृष्ट शिक्षक, उत्कृष्ट अभिभावक, दीर्घसेवा शिक्षक सम्मान गर्दै विद्यार्थीले प्रतिभा प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल विनोद कुमार श्रेष्ठले बताए ।

उत्कृष्ट विद्यार्थी सम्मान

वार्षिकोत्सवमा २०८१ सालको एसईई परीक्षामा मेचीनगर प्रथम भएकी नुब्सा थलङ लिम्बूलाई विद्यालयले नगदसहित सम्मान गरेको छ । उनलाई नगद ५० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको हो । गत वर्षको एसईईमा ४ जीपीए ल्याएर उनी नगर प्रथम भएकी थिइन् ।  

त्यस्तै, कार्यक्रममा सोही विद्यालयका छात्र अंकित आचार्यलाई पुरस्कृत गरियो । उनलाई नगद २५ हजार रुपैयाँले सम्मान गरिएको हो । आचार्यले गत वर्षको एसईईमा ३।९१ ल्याएका थिए भने छात्रा जयन्ती बुढाथोकीलाई पनि सम्मान गरिएको थियो । उनले ३।९१ ल्याउन सफल भएकी थिइन् । उनलाई पनि नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । 

सोही अवसरमा गत वर्षको एसईई परीक्षाको तयारीमा अहोरात्र खटिएका शिक्षकहरुलाई सम्मान गरिएको थियो । शिक्षक मनोज चौधरी, विशाल आचार्य, सुरज चौधरी, रक्षा पाठक, पुष्प खतिवडा र सुसन भेटवाललाई सम्मान गरिएको थियो । सम्मानित शिक्षकहरुको मेहनतबाट विद्यार्थीले मेचीनगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।

उत्कृष्ट शिक्षक सम्मान 

यस्तै, विद्यालयले वर्ष उत्कृष्ट शिक्षकका रुपमा तीनजनालाई सम्मान गरेको छ । शिक्षक मनोज चौधरी, भावना भण्डारी र सोनिया घिमिरे दाहाललाई वर्ष उत्कृष्ट शिक्षक सम्मान गरिएको हो । सोही अवसरमा पूर्व शिक्षक सम्मान पुष्प खतिवडालाई अर्पण गरियो । उनले लामो समय सोही विद्यालयमा अध्यापन गराएका थिए ।  

उत्कृष्ट अभिभावक सम्मान 

विद्यालयले असल अभिभावक सम्मानलाई पनि समेटेको छ । यो वर्ष उत्कृष्ट अभिभावकको रुपमा प्रकाश बानियाँलाई सम्मान गरेको हो । मेचीनगर–९ निवासी उनी सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् ।

दीर्घसेवा शिक्षक सम्मान

वार्षिकोत्सव कार्यक्रममा विद्यालयले दुई जना शिक्षालाई दीर्घसेवा शिक्षकका रुपमा सम्मान गरेको छ । शिक्षक कैलाश कार्की र मेनुका निरौलालाई सम्मान गरिएको हो । दुवैजना शिक्षकले विद्यालय स्थापनादेखि अहिलेसम्म अध्यापन गराउँदै आएका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित ढुंगानाको अध्यक्षता तथा प्याब्सन झापा अध्यक्ष छत्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले विद्यार्थीको रुचि अनुसार पढाइ आवश्यक रहेको बताए । उनले अबको शिक्षा समयानूकुल हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्री, कविशिरोमणि माविका अध्यक्ष संगीता थापा, कविशिरोमणि माविका प्रधानाध्यापक हरि न्यौपाने, सहायक प्रअ तुलसा दंगाल, धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाई, सामाजिक व्यक्तित्व चन्द्रमणि पौडेल, प्रकाश भण्डारी, प्रेम सोम्वाहाम्फे, शिक्षासेवी सपना ओडारी, नेत्र खतिवडा, शान्ति गजमेर लगायतको आतिथ्यता रहेको थियो ।

सोही अवसरमा विद्यार्थीको प्रस्तुति रोचक थियो । अभिभावकको उपस्थिति खचाखच रहेको कार्यक्रममा आफ्ना विद्यार्थीको प्रस्तुतिले माहोल झन् तताएको थियो । विद्यार्थीहरुले गीत, नृत्य, नाटक, फेसन शो प्रस्तुत गरेका थिए । 

बाल क्लबकी अध्यक्ष जेनिशा बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सुनिता आचार्य, निलम कट्टेल, सोनिया घिमिरे र रन्जु बरालले गरेका थिए । अन्य स्टेजको कार्यक्रम विद्यार्थीहरुले आलोपालो सञ्चालन गरेका थिए । 

रजत जयन्ती वर्षले विद्यालयलाई विगतको संघर्ष सम्झँदै भविष्यका नयाँ लक्ष्य तय गर्ने अवसर दिएको प्रिन्सिपल विनोद कुमार श्रेष्ठले बताए । उनले एसईईमा उत्कृष्ट हासिल गर्ने विद्यार्थीलाई ‘पारिजात शिक्षा पदक’ बाट विभुषित गर्दै जाने बताए ।