झापा ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि लाखौं नेपाली कार्यरत रहेको मध्यपूर्वमा असुरक्षा बढेको छ । तनाव कति लामो समयसम्म रहने हो एकिन नभए पनि कतारले दोहा विमानस्थल तत्कालका लागि बन्द गर्ने निर्णय गरेपछि शनिबार उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थलका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतार विमानस्थल बन्द भएपछि त्यहाँबाट नेपाल आउने र नेपालबाट जाने उडान बन्द भएका छन् । कतारले दैनिक तीन वटा दोहा–काठमाडौं उडान गर्दै आएको छ । यसबाहेक नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पनि दोहाका लागि उडान गर्दै आएका छन् ।
शनिबार सिंगो मध्यपूर्वको आकाश खाली गराइएको छ । हजारौं यात्रु बिचल्लीमा परेका छन् । दुबईस्थित विश्वकै सबैभन्दा व्यस्तमध्ये पर्ने अल मक्तूम विमानस्थल समेत बन्द गरिएको छ । खाडीका ७ मुलुकमा १९ लाखभन्दा बढी नेपाली कार्यरत रहेका छन् । गत वर्ष मात्रै त्यस क्षेत्रमा सवा ५ लाखभन्दा बढी नेपाली रोजगारीका लागि वैधानिक रूपमा गएका छन् । भिजिट भिसामा गएका ठुलो संख्याका नेपाली अवैधानिक रूपमा युएई, साउदी अरेबिया, कतार, कुवेत, बहराइन र ओमान जस्ता खाडी देशमा रहेका छन् । द्वन्द्व चर्किएमा ठुलो संख्यामा नेपाली बिचल्लीमा पर्ने, रोजगारी गुमाउने र नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्स प्रभावित हुने खतरा रहेको छ ।
नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एड्भाइजरी जारी गर्दै उक्त सुझाव दिएको हो । कतारले आपतकालीन सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्थानीय नागरिक र आप्रवासी कामदारलाई आग्रह गरेको छ ।
राइनस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो सुरक्षाका लागि बहराइन सरकारको एप डाउनलोड गरी ‘साइरन अलर्ट’ सक्रिय बनाउन अनुरोध गरेको छ । दूतावासले शनिबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई आवश्यक सतर्कता अपनाउन पनि भनेको छ ।
कतार, बहराइन, साउदी अरब, कुवेत र अबुधाबी लगायतका ठाउँहरूमा लगातार विस्फोट भइरहेको कतारस्थित खाडी क्षेत्रको प्रमुख सञ्चारसंस्था अलजजिराले जनाएको छ । कतारमा उक्त क्षेत्रकै सबैभन्दा ठुलो अमेरिकी सैन्य अखडा अल उदैद हवाई अखडा रहेको छ । त्यहाँ इरानी आक्रमणको त्रास बढेको छ । उता इजरायलमा मानिसहरू बंकरमा लुकेर आफ्नो सुरक्षाका लागि प्रार्थना गरिरहेका छन् । बीबीसीका अनुसार कतारको आन्तरिक मामिला मन्त्रालयले शनिबार साँझसम्म मानवीय क्षति नभएको जनाएको छ । मानिसहरूको फोनमा घरभित्रै रहन आपतकालीन सन्देशहरू आइरहेका छन् ।
युएईको सरकारी सञ्चार माध्यमका अनुसार इरानी क्षेप्यास्त्रहरू प्रतिरोध गरिएपछि खसेका टुक्राटाक्री लागेर एकजनाको ज्यान गएको छ । त्यहाँको रक्षा मन्त्रालयले ती व्यक्ति एसियाली मूलका भएको बताए पनि परिचय खुलाएको छैन । अमेरिकाले इराकमाथि गरेको आक्रमणको बदलामा बहराइन, कतार, दुबई र कुवेतमा रहेका अमेरिकी सैनिक अखडाहरू निशानामा परेका छन् । त्यस्तै, कतारस्थित अमेरिकी सैनिक अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरिएको छ । कुवेतमा समेत इरानले आक्रमण गरेको छ ।

















