झापा ।
नेपाल मुस्लिम नागरिक समाज केन्द्रिय समितिले झापासहित देशभरका १० उम्मेद्वारलाई प्रतिनिधिसभा निर्वाचनमा समर्थन गर्ने भएको छ । समाजले आज (शनिवार) झापा गाउँपालिका–४ मा पत्रकार सम्मेलननको आयोजना गरी झापाका ४ सहित १० जना उम्मेद्वारलाई भोट दिएर जिताउन मुस्लिम समुदायलाई आग्रह गरेको हो ।
नेपाल मुस्लिम नागरिक समाज केन्द्रिय समितिका अध्यक्ष स्वर्गीय मसुरुद्दिन अन्सारीका माइला छोरा अब्दुल सद्दाम अन्सारीले पत्रकार सम्मेलनमा आफ्ना स्व. पिताले समाजमा गरेका सामाजिक कार्यका बारेमा जानकारी दिदै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १० जना उम्मेद्वारलाई भोट दिन मुस्लिम समुदायलाई आव्हान गरेका छन् ।
समाजले झापा क्षेत्र नं. ५ बाट एमाले उम्मेद्वार केपी शर्मा ओली, झापा क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेद्वारी दिएकी धर्मशिला चापागाँई, झापा क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेद्वारी दिएका राजेन्द्र लिङ्देन, एमालेका तर्फबाट झापा क्षेत्र नं. ४ बाट उम्मेद्वारी दिएका एलपी साँवा लिम्बु, रौतहटबाट कांग्रेसबाट उम्मेद्वारी दिएका फिररोस आलमलाई भोट दिन आग्रह गरेको छ ।
त्यस्तै समाजले महोत्तरीबाट शरदसिंह भण्डारी, सर्लाहीबाट मातृका यादव, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अब्दुल खान, सर्लाहीबाट उम्मेद्वार बनेका रिजवान अन्सारी, बाराबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका रहवर अन्सारीलाई मतदान गर्न आग्रह गरेको छ ।
सामाजिक क्षेत्रमा क्रियाशील स्व. अन्सारीको २०७४ सालमा निधन भएको छोरा सद्दाम अन्सारीले बताए । स्व. अन्सारीले समाजमा बिभिन्न सामाजिक गतिविधि गर्दै आएका थिए । छोरा सद्दामले प्रतिनिधि सभापछि समाजको नयाँ नेतृत्व चयन गरिने भएकाले समतिका सदस्य र अध्यक्षका दावेदार भए सम्पर्कमा आउन समेत आग्रह गरेका छन् ।

















