लक्ष्मीपुर । 

झापाली समाज कतारको सहयोग तथा प्रवासी झापाली सम्पर्क मञ्च नेपालको समन्वयमा  नशा र फोक्सो रोगबाट पिडीत बालकलाई आर्थिक सहयोग गरिएको छ । 

झापा अर्जुनधारा–५ स्थित चाँदनी चोकका ३ वर्षिय अनमोल कुमाल  नशा सुक्ने र फोक्सो रोगबाट पीडित छन् । बिरामी बालकलाई उपचारमा सहयोग पुर्याउने उदेश्यले रकम हस्तान्तरण गरिएको हो । झापाली समाज कतारको टोली सोमवार बिरामी बालकको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो । 

प्रवासी झापाली सम्पर्क मञ्च नेपालका अध्यक्ष सुदर्शन रोकाको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा अर्जुनधारा नगरपालिका–५ का वडाध्यक्ष गीताराज खड्का (हरि) प्रमुख आतिथ्य रहेको थियो । 

रकम हस्तान्तरण कार्यक्रममा झापाली समाज कतारका कोषाध्यक्ष लोक थापा र अन्य समितिका पदाधिकारी र मान्यवरको उपस्थिति रहेको थियो । बिरामी बालकलाई झापाली समाज कतारबाट १५ हजार र जापान निवासी रोशन बस्नेतले व्यक्तिगत तीन हजार रुपैयाँ गरी जम्मा १८ हजार रुपैयाँ प्रदान गरिएको थियो । 

बिमारी बालकका मावली हजुरबुवा  टंक खत्रीलाई सो रकम हस्तान्तरण गरिएको थियो भने  बिरामी बालकको स्वाथ्य लाभको कामनासमेत गरिएको थियो । कार्यक्रम सञ्चालन सचिव बिजयकुमार मगरले गरेका थिए ।