बिर्तामोड । 

झापाको बिर्तामोड–४ को कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलको आयोजनामा भएको प्रथम गुरुभक्त न्यौपाने मेमोरियल इन्टर स्कुल नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि निदी सेकेन्डरी स्कुलले हात पारेको छ । आज (शनिवार) देवी माध्यमिक बिद्यालय र निदी सेकेन्डरी स्कुलबिच भएको फाइनल खेलमा निदिले २–१ गोलले पछि पार्दै उपाधि हात पारेको हो । 

उपाधिसँगै निदीले १० हजार नगदसहित मेडल र ट्रफी हात पारेको छ । त्यस्तै उपविबजेता देवी माविले नगद ६ हजारसहित मेडल र ट्रफी हात पारेका छन् । यस्तो प्रतियोगितामा तेस्रो आयोजक कन्चनजङ्गा भएको छ । जसले नगद ४ हजार ५०० रुपैयाँसहित मेडल र ट्रफी हात पारेको छ भने चौथो हुनेलाई सान्तवना मेडल र ट्रफी दिइने बताइएको छ । 

साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवर्ड, वेष्ट प्लेयर, टप स्कोरर, वेष्ठ कोच र प्रत्येक म्याचको म्यान अफ द म्याचलाई आकर्षक ट्रफी प्रदान गरिएको छ ।  गत फागुन ३ गतेदेखि आयोजना गरिएको प्रतियोगिताको फाइनल आज सम्पन्न भएको हो । विद्यालयका संस्थापक तथा निर्देशक शिक्षा क्षेत्रका अग्रज व्यक्तित्व गुरुभक्त न्यौपानेको स्मृतिमा फुटबल प्रतियोगिताको आयोजना गरिएको संस्थापक प्रिन्सिपल डाक्टर केशवराज न्यौपानेले जानकारी दिए ।

विद्यार्थीहरू भित्र रहेको अन्तर्निहित क्षमतालाई उजागर गर्न र विद्यार्थीहरूलाई मानसिक तथा स्वस्थ राख्नका लागि प्रतियोगिताको आयोजना गरिएको डाक्टर न्यौपानेले  बताए । उनले प्रथमपटक आयोजना गरिएको यस प्रतियोगितामा नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत २० वटा विद्यालयहरूकोे सहभागिता जानकारी दिए।

आगामी दिनमा यस कार्यक्रमलाई बृहत बनाउँदै झापा जिल्ला भरिका स्कुलहरूलाई समेट्ने योजना समेत बनाएको विद्यालयले जनाएको छ । प्रतियोगितामा एमएटी, देवकुल, शुक्रराज, विराट ज्योति, न्युटन्स, कोहेड, टावर टेम्पल, देवी मावि, एभरेस्ट, प्रशान्ति, कन्चनजंगा कञ्चन ,सरस्वती एन्जल, फनमिन, सिदार्थ, गोमेन्द्र, सरस्वती मावि, निधि कन्काई र सेन्जिबियस स्कुलले सहभागिता जनाएका प्रतियोगिता संयोजक तथा शिक्षक दिपक सिटौलाले  जानकारी दिए ।

बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा भएको फाइनल खेलको उद्घाटन कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्काीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिद्यालयका भाइस पिन्सीपल अनन्तकुमार राजवंशीले गरेको कार्यक्रममा बिद्यालयको गतिविधिका बिषयमा जानकारी दिदै संस्थापक प्रिन्सिपल डाक्टर केशवराज न्यौपानेले स्वर्गीय गुरुभक्त न्यौपानेको नाममा एक करोड रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । उनले उक्त कोषको ब्याजबाट प्रत्येक बर्ष सामाजिक क्षेत्रमा सहयोग पुर्याउने बताएका छन् । 

कार्यक्रममा प्रमुख अतिथि कार्की, विराट ज्योति स्कुलका पिन्सपल गणेश ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक तथा खेल संयोजक दिपक सिटौलालले गरेका थिए । 

पिजीदेखि कक्षा १० सम्म एक हजार ५०० र ११ र १२ र बिबिएस र एसिसिए गरेर एक हजार गरी जम्मा २ हजार ५०० जना बिद्यार्थी अध्ययनरत रहेको संस्थापक पिन्सिपल डा. न्यौपानेले जानकारी दिए । त्यस्तै शिक्षक र कर्मचारी गरेर जम्मा १५५ जना रहेको बताइएको छ । बिद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा–११ मा होटल म्यानेजमेन्ट कक्षा शुरु गर्ने बिद्यालयले जनाएको छ ।