बिर्तामोड । 

 झापाको बिर्तामोडस्थित एभरेष्ट स्मार्ट एकेडेमी र एभरेष्ट स्पोट्स एकाडेमीको आयोजनामा तेस्रो हरिकुमार प्रसाईं स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय यु–१३ नकआउट फुटबल प्रतियोगिता विहीवार शुरु भएको छ ।

विद्यालयका संस्थापक प्रसाईंको स्मृतिमा हरेक बर्ष उक्त प्रतियोगिता हुँदै आएको छ । विहीवार पहिलो खेल एभरेष्ट स्मार्ट एकाडेमी र इष्ट होराइजन धुलावारीबीच भएकोमा १–०को अन्तरले इष्ट होराइजन विजयी भएको विद्यालयका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए ।

कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महताराले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । विद्यालयका प्रबन्ध निर्देशक आशिष प्रसाईंको अध्यक्षतामा भएको समारोहमा राम सिटौला, प्रशान्त भण्डारी, हरिकुमार पाठक, सूर्य कन्दङ्वा, गजेन्द्र पौडेल लगायतले शुभकामना व्यक्त राखेका थिए । प्रबन्ध निर्देशक प्रसाईंले आफ्ना स्व. पिताको शिक्षा प्रतिको लगाव सोच र योगदानको चर्चा गर्दै विद्यालयले गरिरहेका गतिविधि बारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सावित्रा भट्टराईले गरेकी थिइन् ।

प्रतियोगितामा सुनभागा स्कूल, टावर टेम्पल, गोमेन्द्र, बाल बाटिका, चिल्ड्रेन इन्भारोमेन्ट, मेची मोडल, निधि, ग्रिन फिल्ड, ब्रिलियन्ट पिपुल्स, देवकुल, होलीवेल, वेल्स मोडल, कञ्चनजंघा, कञ्चन, सूर्योदय, हरिकुल, बाल्मीकि प्रोभिडेन्स र न्यूट्न्स एजुकेशन एकाडेमीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल माघ २८ गते हुने बताइएको छ ।

यसैबीच विद्यालय र एभरेष्ट बाल क्लबले दुई जना क्यान्सरपीडित बालकलाई सहयोग गरेका छन् । बाह्रदशी निवासी ३ बर्षीय नुतन राजवंशी र भद्रपुर निवासी ६ बर्षीय आरोन धमालालाई जनही ३५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको प्रिन्सिपल शर्माले जानकारी दिए ।