बिर्तामोड ।
जिल्ला प्रशासन कार्यालय झापाले म्यानपावरका शाखा कार्यालयको अनुगमनलाई तीव्र बनाएको छ । वैदेशिक रोजगारका क्रममा युवाहरु ठगीने क्रम वढेको भन्दै जिल्ला प्रशासन कार्यालयसहित श्रम कार्यालय भद्रपुरले झापाका म्यानपावर शाखाहरुमा अनुगमनलाई निरन्तरता दिदै आएको छ ।
यसै क्रममा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको नेत्ृत्वमा आज (सोमवार) बिर्तामोडमा आएको टोलीले तीन वटा म्यानपावर शाखाको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा यदुनन्दन दाहालले जानकारी दिए ।
बिर्तामोडमा चन्द्रप्रसाद पौडेलले सञ्चालन गरेको लुम्बिनी दर्शन, भीम बिष्टले सञ्चालन गरेको स्क्यान मेनपावर र बिरेन्द्र थापाले सञ्चालन गरेको अलमाईटी इन्टरनेशनल म्यानपावरको शाखा कार्यालयमा अनुगमन गरिएको थियो ।
अलमाईटी इन्टरनेशनल म्यानपावरको शाखा कार्यालयबाट ९ वटा पासपोर्ट फेला परेको र उक्त पासपोर्ट बरामद गरिएको बताइएको छ । शाखा नविकरण नगरेका म्यानपावर कार्यालयलाई नविकरण गर्न सुझाव दिइएको छ । अनुगमनमा सहायक जिल्ला प्रमुख अधिकारी प्रसाईसहित श्रम कार्यालय भद्रपुरका प्रमुख सुलभ श्रेष्ठ र प्रहरीहरु रहेका थिए ।

















