अर्जुनधारा ।
झापा अर्जुनधारामा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अर्जुनधारा–१ को सिंहदेवी माविमा प्रतियोगिता उद्घाटन भएको हो ।
चारदिन सम्म सञ्चालन हुने प्रतियोगिताको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देन तामाङले उद्घाटन गरेका छन् । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, मार्सल आर्टस, ज्याब्लीङ, सटपुट र कबड्डी लगायतका बिधामा ४०० खेलाडीले सहभागिता जनाउने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
नगरपालिका भरी सञ्चालनमा आएका २८ वटा माध्यमिक बिद्यालयका खेलाडीले ६६ स्वर्ण, ६६ रजत र १०२ कास्य पदकका लागि प्रतियोगितामा प्रतिष्पर्धा गर्ने भएका छन् । नगरबाट छनौट भएका खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।
लगातार तीन पटक जिल्ला प्रथम भएको अर्जुनधारालाई यो बर्ष पनि त्यो साख जोगाउने चुनौती रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख गोम्देनले खेललाई मनोरञ्जनको साधन मात्र नठानेर व्यवसायिकताको दर्जा दिनुपर्ने बताए । उनले खेलाडीलाई उच्च मनोबलका साथ स्वच्छ प्रतिष्पर्धा गर्न पनि सुझाब दिएका छन् ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, वडा न १ का अध्यक्ष उपेन्द्र बस्नेत, ६ का अध्यक्ष हरिश्चन्द्र वाँस्तोला, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।


















