झापा । 

अमेरिकाले आगामी सेप्टेम्बर ३० सम्ममा ६५ हजार मौसमी कामदार लैजाने भएको छ । आप्रवासी नीतिमा कडाइ गर्ने नीति लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होटल तथा निर्माण क्षेत्रमा जनशक्तिको कमी भएपछि एच टू बी नामको मौसमी कामदार भिसा जारी गर्ने घोषणा गरेका छन् ।

अमेरिकी श्रमको अभावका कारण गम्भीर कठिनाइको जोखिममा रहेका रोजगारदाताहरूलाई यसले सहयोग पुर्‍याउने बताइएको छ । मौसमी कामदारलाई कन्स्ट्रक्सन, होटल पर्यटन र समुद्री खाना प्रशोधन जस्ता व्यवसायहरूमा रोजगारी उपलब्ध रहेको रोयटर्सले बताएको छ । यसअघि यी क्षेत्रमा ६६ हजार मौसमी कामदार रहेका छन् ।

पूर्वराष्ट्रपति जो बाइडेन र ट्रम्पको अघिल्लो कार्यकालमा पनि ठुलो मात्रामा मौसमी कामदार माग गरिएको थियो । ट्रम्पको आप्रवासी र गैरआवासीय कामदार घटाउने निर्णयले निर्माण व्यवसाय प्रभावित भएको बताइएको छ । 

एच वान बी कार्यक्रममार्फत विदेशी कामदार भित्र्याउन प्राविधिक कम्पनीहरूलाई कठिन बनाइएको छ । नेपालमा मौसमी कामदारको श्रम स्वीकृति सम्बन्धमा स्पष्ट दृष्टिकोण देखिएको छैन । सामान्यतया कृषि वा अन्य मौसमी कामदारको डिमाण्डसँग जोडिएको छोटो अवधिको रोजगारीमा पठाउने प्रक्रियालाई वैधानिक र व्यवस्थित गर्न श्रम मन्त्रालयले चार वर्षअघि  मौसमी कामदार व्यवस्थापन कार्य निर्देशिका जारी गरेको थियो ।