बिर्तामोड ।
मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता ‘झापा गोल्डकप’ को सातौँ संस्करण आगामी माघ २४ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने भएको छ । प्रतियोगिताका लागि मुख्य प्रायोजकका रुपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रम इनर्जी ड्रिङ्क्स’ सँग सम्झौतासँगै सम्झौतामा हस्ताक्षर गरिएको छ ।
फागुन ४ गतेसम्म चल्ने यस वर्षको प्रतियोगितालाई ‘एक्स्ट्रम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण’ का रूपमा आयोजना गर्न लागिएको आयोजक आज (शुक्रवार) बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिताका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित संस्करणमा पुरस्कार राशि वृद्धि गरिएको छ । आयोजकका अनुसार यस वर्षको विजेता टोलीले नगद १५ लाख रुपैयाँ र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’ लाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस वर्षको अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० वटा प्रतिष्ठित टोलीहरूको सहभागिता रहनेछ। नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहभागी हुनेछन्।
अन्तर्राष्ट्रिय टोलीमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपैयाँ लागत अनुमान आयोजकले गरेको छ । झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यका साथ २०७२ सालदेखि सुरु भएको यो प्रतियोगितालाई थप व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको अध्यक्ष केदार गिरीले जानकारी दिए ।
झापा जिल्लाका एक पुराना फुटबल खेलाडी र रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई जनही २५ हजार रुपैयाँले सम्मान तथा सहयोग प्रदान गरिने कार्यक्रम समेत रहेको छ ।‘झापा गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रूपमा अगाडि बढाउन हामी प्रतिबद्ध छौँ’ अध्यक्ष गिरीले बताए । प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रम इनर्जी ड्रिङ्क्स’ रहेको छ भने विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठको टोलीले गरेको छ ।


















