झापा । 

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाहरूले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । भाषा र सीप परीक्षण उत्तीर्ण गरेर पनि कोरिया जान नपाएपछि उनीहरू विगत ७ महिनादेखि आन्दोलनरत छन् ।

यसअघि उनीहरूले ग्वार्कोस्थित इपिएस कार्यालयमा विरोध प्रदर्शन गरेका थिए । भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे रोस्टरबाट नाम हट्ने र रोजगारीका लागि कोरिया जान पुनः फेरि भाषा परीक्षामा सामेल भएर नयाँ जसरी उत्तीर्ण हुनुपर्ने प्रावधान छ । प्रदर्शनमा उत्रिएका युवाहरूले रोस्टरको अवधि बढाउनुपर्ने माग राखेका छन् । 

सन् २०२५ का लागि कोरियाले उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८ सय कोटा तोकेकोमा एक लाखभन्दा धेरै युवा आवेदन दिएर पर्खिरहेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा मात्रै हाल १२ हजारभन्दा धेरै रहेको बताइएको छ ।