झापा । 

जापानस्थित नेपाली दूतावासले व्यक्तिगत श्रम स्वीकृतिमा जापान आउने नेपाली कामदार चर्को ठगी र गम्भीर शोषणमा परेकोजनाएको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै जापानस्थित नेपाली दूतावासबाट जापानमा ब्याचलर, कुक तथा सीपयुक्त कामदार लगायतका भिसामा व्यक्तिगत श्रम स्वीकृति लिई जाने व्यक्तिहरू अत्याधिक मात्रामा ठगीमा पर्ने, चर्को शुल्क तिर्ने, भने अनुसार काम र तलब नपाउने गरेको भनी जानकारी प्राप्त भएको जनाएको छ ।

वैदेशिक रोजगारी ठगीमा संलग्नलाई कारबाही तथा जापानको व्यक्तिगत श्रम स्वीकृतिलाई व्यवस्थित बनाउने विषयमा पत्राचार भइरहेको नेपाली दूतावासलाई उद्धृत गर्दै विभागले व्यक्तिगत श्रम स्वीकृति लिई जापान जाने व्यक्तिहरूलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका विभिन्न कन्सल्टेन्सी, संस्था तथा व्यक्तिले ठगी गरेको बताएको छ ।

वैदेशिक रोजगार व्यवसायीहरूले शैक्षिक परामर्शदाताको अख्तियार पाएका कन्सल्टेन्सीहरूले जापानको रोजगारीमा डरलाग्दो ठगी भएको बताउँदै आएका थिए । ठगीमा आफूलाई गैरआवासीय नेपाली र समाजसेवी बताउने व्यक्तिहरू पनि संलग्न रहेको धेरैजसोले टिप्पणी गर्दै आएका छन् ।

विभागले त्यसको पुष्टि हुने गरी भनेको छ, ‘जापानमा काम लगाइदिने आश्वासन दिएर विभिन्न प्रकारका भिसा तथा रोजगारी सम्बन्धी कागजात बनाई व्यक्तिगत श्रम स्वीकृतिको आवेदन गरिदिने र चर्को शुल्क असुली गरेको गुनासोसमेत प्राप्त भएकाले वैदेशिक रोजगारी व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका कोही कसैले यस्तो कानुन विपरीतको कार्य नगर्न–नगराउन सूचित गरिन्छ ।’

पछिल्ला दिनहरूमा जापानमा ट्रान्स्पोर्ट ड्राइभर क्यान्डिडेट भिसामा व्यक्तिगत श्रम स्वीकृतिका लागि निवेदन आउने गरेको भन्दै विभाग स्रोतले उक्त भिसाको प्रकृति जापानमा ड्राइभिङ परीक्षा पास गरेपछि आफ्नो प्रयासमा रोजगारी खोज्नुपर्ने भएकाले त्यस्तो भिसामा श्रम स्वीकृति नदिइने बताएको छ । त्यसैगरी विभागले वैदेशिक रोजगारीमा जापान जाने व्यक्तिहरूले समेत आफूलाई प्राप्त भएको भिसाको प्रकार, कन्ट्र्याक्ट अफ इम्प्लोइमेन्ट, करार सम्झौता, रोजगारदाता कम्पनी, संस्था सम्बन्धमा आधिकारिक जानकारी प्राप्त गरी श्रम स्वीकृतिका लागि आवेदन गर्न पनि आग्रह गरेको छ ।

जापानमा रोजगारीमा पठाइदिन भिसा लगाइदिन्छु भनी आश्वासन दिई वा जापानबाट रोजगारीसम्बन्धी करार सम्झौता वा भिसा आयो भनी रकम माग गरेमा वा जापानमा वैदेशिक रोजगारीमा पठाइदिने भनी चर्को शुल्क असुल गरेमा प्रमाणसहित विभाग वा अन्य सम्बन्धित निकायमा उजुरी गर्न पनि आग्रह गरेको छ ।