झापा । 

आज श्रीपञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर मनाइँदैछ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा आराधना गर्ने गरिन्छ । सरस्वती माताको पूजा आराधना गर्नाले बुद्धिविवेकसहित बिद्या बढ्ने विश्वासका साथ आज सरस्वती माताको पूजा आराधना गर्ने गरिन्छ । 

आज सरस्वती मन्दिर र बिद्यालयहरुमा पूजा गर्न दर्शनार्थी तथा बिद्यार्थीहरुको भीड लागेको छ । सरस्वती माता बिद्याकी देबी भएकाले आज झापासहित देशभरका बिद्यालयहरुमा साथै सरस्वती देबीको मन्दिरमा पूजाअर्चना गरिन्छ । 

यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । सरस्वती पूजाको अवसर पारेर अधिकांश बिद्यालयहरुले अक्षराम्भ कार्यक्रम पनि शुरु गर्ने गरेका छन् ।