भद्रपुर ।
हात्तीपाइलेजस्तो दीर्घकालीन र अपाङ्गता निम्त्याउने रोग नियन्त्रणका लागि झापामा फेरि सामूहिक औषधि सेवन अभियान सुरु गरिएको छ । कचनकवल गाउँपालिका र झापा गाउँपालिकाबाट सुरु भएको अभियान कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, बाह्रदशी गाउँपालिका र हल्दिबारी गाउँपालिकामा समेत सञ्चालन हुँदैछ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दाशका अनुसार यी पालिकामा अझै संक्रमण फेला परेपछि अभियान सञ्चालन गर्नुपरेको हो ।‘संक्रमणको दर घट्दै गएको छ तर पूर्ण नियन्त्रणमा आएको छैन । रोगको सर्कुलेसन रोक्न सामूहिक औषधि सेवन अत्यन्त आवश्यक छ ।’
यसपटक झापामा करिब २ लाख ८२ हजार जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ । विश्व स्वास्थ्य संगठनका कार्यक्रम अधिकृत रविन्द्र खनियाका अनुसार जिल्लामा अझै २ हजार २६९ जनामा हात्तीपाइलेको संक्रमण देखिएको छ । संक्रमितमध्ये ८४६ जनामा हात–खुट्टा सुनिने समस्या, १ हजार ३५२ जनामा हाइड्रोशील र ७१ जनामा दुवै लक्षण देखिएको छ । झापामा प्रत्येक एक हजार जनामध्ये दुई जनामा यो रोग देखिने गरेको तथ्याङ्क छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार अभियान सञ्चालन हुने पालिकामा करिब १ प्रतिशत व्यक्तिले अरूलाई रोग सारिरहेको अवस्था छ भने १० दशमलव ५ प्रतिशत व्यक्तिको शरीरमा अझै हात्तीपाइलेको वयस्क परजीवी सक्रिय अवस्थामा छ । पालिकाअनुसार कचनकवलमा ४१ हजार १४९, कनकाईमा ५२ हजार ९५४, झापा गाउँपालिकामा ४० हजार ३, बाह्रदशीमा ३६ हजार ३३३ र हल्दिबारीमा ३१ हजार ५३१ जनालाई औषधि खुवाइने कार्यक्रम रहेको छ ।
यो झापामा १४ औं पटक सञ्चालन भएको सामूहिक औषधि सेवन अभियान हो । यसपटक छ वटा पालिकामा अभियान सञ्चालन गर्न करिब ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधि राम रोकायका अनुसार नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग पूर्ण रूपमा उन्मूलन गर्ने लक्ष्य लिएको छ । ‘नेपालका ६४ जिल्लामा यो रोग देखिएको थियो । ५७ जिल्लामा उन्मूलन भइसकेको छ । अहिले पाँच जिल्लामा मात्र कार्यक्रम सञ्चालनमा छ ।’
कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार औषधि सेवन नगर्ने समूहमा शिक्षित समुदायकै संख्या बढी रहेको पाइएको छ । स्वास्थ्यकर्मीहरू भन्छन्—थोरै व्यक्तिले औषधि नखाँदा पनि रोगको सर्कुलेसन कायम रहन सक्छ । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र पूर्वअध्यक्ष कृष्ण हुमागाईंले सञ्चारकर्मीको तर्फबाट अभियान सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रम फेयरमेड, एनएलटी, एनएलपी र द लेप्रोसी मिसन नेपालको सहकार्यमा सञ्चालन भइरहेको छ । स्वास्थ्य अधिकारीहरूको भनाइमा सबै लक्षित जनसंख्याले औषधि सेवन गरेमा झापालाई पनि छिट्टै हात्तीपाइले मुक्त जिल्ला घोषणा गर्न सकिनेछ ।


















