झापा ।
मलेसियास्थित नेपाली दूतावासले सुरक्षागार्डको समस्या समाधान हुन समय लाग्ने बताएको छ । नेपाली दूतावास क्वालालम्पुरको शुक्रबारको साप्ताहिक फेसबुक कार्यक्रममा धेरैजसो नेपालीले एक वर्षको अवधि पूरा हुन लाग्दा समेत सुरक्षागार्डको रोजगारीमा न्यूनतम मासिक १७ सय रिंगेट तलब पाउन नसकेको गुनासो गरेका छन् ।
नेपाली दूतावासले सुरक्षागार्डको काम गर्ने नेपालीलाई हप्तामा न्यूनतम एक दिन आराम अनिवार्य गरेको बताएको छ । तर, आराम गरे कम्पनीले तलब काट्ने डरले नेपाली सुरक्षागार्डले पुरै महिना काम गर्नुपरेको गुनासो गरेका छन् ।
मलेसियाले कार्यान्वयन गरिरहेको कर्मचारी भविष्य कोष (इपिएफ) का लागि मासिक ३५ रिंगेट कट्टा हुने गुनासो पनि उनीहरूको छ । मलेसियामा कर्मचारीहरूलाई अवकाश र अन्य वित्तीय सुरक्षाका लागि बचत जम्मा गर्न अवकाश बचत कोष सञ्चालन गरिएको छ । शुक्रबारको कार्यक्रममा नेपाली सुरक्षागार्डहरूको गुनासोपछि नेपाली दूतावासले न्यूनतम तलब र छुट्टी नदिने कम्पनीको विवरण पठाउन आग्रह गरेको छ ।
मलेसियामा कामको तुलनामा अन्य क्षेत्रका कामदारको भन्दा सुरक्षागार्डको तलब कम देखिएको गुनासो पहिलेदेखि नै छ । मलेसियाले गत फेब्रुअरी पहिलो तारिखदेखि स्वदेशी तथा विदेशी कामदारको तलब १७ सय रिंगेट पुर्याएको थियो । सैद्धान्तिक रूपमा नेपाली सुरक्षागार्डको तलब १७ सयभन्दा कम छैन, तर व्यवहारमा सुरक्षागार्डको तलब अन्य क्षेत्रमा काम गर्ने नेपाली कामदारको भन्दा कम हुन पुगेको हो ।
मलेसियामा अन्य क्षेत्रमा महिनाको २६ दिन दैनिक ८ घण्टाका दरले काम गर्दा मासिक २ सय ८ घण्टा काम गर्दा न्यूनतम मासिक तलब १७ सय रिंगेट छ । तर सुरक्षागार्डले सोही तलबका लागि मासिक ३ सय ६० घण्टा काम गर्नुपरेको गुनासो छ । कार्यघण्टाको कामको आधारमा सुरक्षागार्डको मासिक तलब २९ सय ४२ रिंगेट हुनुपर्नेमा अधिकांशले १७ सय र केही कम्पनीले २३ सय रिंगेटसम्म दिने गरेको दूतावासका जनसम्पर्क अधिकृत भरत गिरी बताउँछन् ।


















