बिर्तामोड । 

वैदेशिक रोजगारीको नाममा हुने ठगी र गैरकानुनी अभ्यासविरुद्ध जिल्ला प्रशासन कार्यालय झापाले अनुगमनलाई तीव्र बनाएको छ । अनुगमनका क्रममा झापा बिर्तामोड–१ मा सञ्चालनमा रहेको ‘नवील ओभरसिज’ नामक मेनपावर कम्पनी दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा आएको पुष्टि भएपछि प्रशासनले ताला लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा आएको जिल्ला प्रशासन कार्यालय झापाको अनुगमन टोलीले सोमबार नवील म्यानपावरको बिर्तामोड कार्यालयमा छापा मार्दा वैधानिक दर्ताका कागजात नभेटिएपछि सिल गरेको हो । 

उक्त कार्यालयमा खातापाता र आवश्यक प्रमाणपत्र नभेटिएपछि  जिल्ला प्रशासन कार्यालय झापाले मेनपावर कम्पनीमा सिल गरेको छ ।अनुगमनका क्रममा कम्पनी सञ्चालक संजय योङ्हाङले वैदेशिक रोजगार ऐनअनुसार आवश्यक कागजात देखाउन नसकेपछि इलाका प्रहरी कार्यालय अनारमनीको सहयोगमा म्यानपावर कम्पनीको बिर्तामोड कार्यालय सिल गरिएको हो ।

सहायक प्रमुख जिल्ला प्रसाईंले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई आकर्षक प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दै गएकाले प्रशासनले अनुगमनलाई तीव्र बनाएको बताए । उनले दर्ता प्रक्रिया पूरा नगरी अनधिकृत रूपमा सञ्चालनमा आएका मेनपावरहरूलाई नछोड्ने बताउँदै यस्ता अन्य कम्पनीमाथि पनि क्रमशः अनुगमन गर्दै कानुनी कारबाही अघि बढाइने उनको भनाई थियो ।

झापामा फेला परेको यो अवस्था केवल स्थानीय समस्या मात्र नभई देशभर व्याप्त वैदेशिक रोजगारीसम्बन्धी बेथितिको प्रतिनिधि उदाहरण भएको प्रशासनको निष्कर्ष छ । मेनपावर, मेडिकल सेन्टर र अन्य सरोकारवाला निकायबीचको मिलेमतोले श्रमिकको स्वास्थ्य, सुरक्षा र भविष्यलाई जोखिममा पारिरहेको भन्दै अब अनुगमनलाई थप प्रभावकारी बनाइने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडमा सञ्चालनमा रहेको गोदावरी डायग्नोष्टिक सेन्टरमा चिकित्सकको उपस्थितिविनै वैदेशिक रोजगार प्रयोजनका स्वास्थ्य परीक्षण रिपोर्ट वितरण हुँदै आएको पुष्टि भएपछि यस अघि प्रशासनले उक्त सेन्टर पनि सिल गरेको थियो ।