झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युएई भिसा प्रक्रियामा श्रमिकमाथि परेको आर्थिक भार हटाउन परराष्ट्रमन्त्री बालानन्द शर्माको ध्यानाकर्षण गराएको छ । शुक्रबार नवनियुक्त मन्त्री शर्मालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा मन्त्रालय गएको प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको हो ।

मन्त्री शर्मालाई बुझाएको ध्यानाकर्षण पत्रमा संघले जेनजी आन्दोलनपछि रोकिएको युएई भिसा प्रक्रिया नेपाल प्रहरीको असल चालचलन रिपोर्टका आधारमा पुनः सुचारु भएपनि गत डिसेम्बर ४ तारिखपछि नेपाल प्रहरीले जारी गरेको क्युआर कोडसहितको प्रमाणपत्र (पिपिसी) लाई कन्सुलर विभागबाट प्रमाणीकरण गरेपछि पुनः नेपालस्थित युएई दूतावासबाट प्रमाणीकरण गर्दा रोजगारीका लागि उक्त मुलुक जाने कामदारको ठुलो रकमसहित समयको अनावश्यक बर्बादी भएको उल्लेख गरेको छ ।

गत ४ डिसेम्बरपछि कुनै औपचारिक जानकारी बिना नेपालस्थित युएई दूतावासबाट प्रहरी रिपोर्ट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरिएका कारण तीन हप्तासम्म पर्खिनुपर्दा भिसा प्रक्रियामा गम्भीर समस्या उत्पन्न भएको र त्यसले युएईको वैदेशिक रोजगारीमा अत्यन्तै गम्भीर र नकारात्मक असर पारेको संघले जनाएको छ ।

आर्थिक रूपमा कमजोर नेपाली श्रमिकहरूलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गराउँदा १४ हजार २ सय रुपैयाँ अतिरिक्त शुल्क तिर्न बाध्य बनाइएको भन्दै संघले गत वर्ष १ लाख ७७ हजार नेपाली कामदार युएई जाँदा २ अर्ब ५१ करोड ३४ लाख नेपाली रुपैयाँ बिदेसिएको तथ्यांकसमेत पेस गरेको छ । संघले तत्कालै युएई सरकार वा नेपालस्थित युएई दूतावाससँग उच्चस्तरीय कूटनीतिक पहल गरी समस्या समाधान गरिनुपर्ने माग गरेको छ ।