चारपाने ।
गरिबी न्यूनिकरण गर्ने राज्यको मूल लक्ष्यलाई सहयोग पुर्याउन शसक्तिकरण, जिविकोपार्जन, स्वास्थ्य मानवीय सेवा तथा पूर्वाधार विकासको क्षेत्रमा कार्य साथै वातवरणीय संरक्षण गर्दै आएको सहारा नेपालले २९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सामाजिक क्षेत्रमा ठूलो फड्को मारेर महत्वपूर्ण उपलब्धी हासिल गर्दै आएको झापाको बिर्तामोड–२ चारपानेमा कार्यालय रहेको सहारा नेपालले आज (शुक्रवार) कार्यालयमा साधारणसभा सम्पन्न गरेको हो । समृद्ध, उत्थानशील र समतामूलक समाजको परिकल्पना गरेर सहारा नेपालको स्थापना गरिएको थियो ।
सहारा नेपालले हाल नेपालको ४३ जिल्लामा सेवा पुर्याएको र चार लाख ९२ हजार जनसंख्या लाभान्वीत भएका सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीले जानकारी दिए ।

अध्यक्ष गिरीद्धारा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको कार्यालय आठ वटा, सहकारी तथा सि.वि.ओ. ३८ वटा, महिला तथा आदिवासी समुह एक सय ११ वटा, बाँसमा आधारिक उद्योग एउटा, जल उपभोक्ता संस्था अर्थात जल तथा आवास एक सय ८ वटा र सञ्जालमा आवद्धता ५ वटाबाट सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले बाढी पिडीतका लागि राहत वितरण, खानेपानी तथा सरसफाई आयोजना निर्माण, सामुदायिक झोलेङ्गे पुल कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रम अन्तरगत झापा र मोरङमा १७५ घर निर्माण सम्पन्न, ११ जिल्लामा २ लाख ४५ हजार ३२५ वटा फलफूलको विरुवा वितरण, वाढी प्रभावित क्षेत्रमा बाँसको विरुवा रोपण, किसानहरुलाई असल कृषि अभ्यास तालिम तथा टनेल सहयोग, उदयपुरका अगुवा कृषकलाई कृषि सामाग्री वितरण, बालबालिकाहरुमा पोषण परिक्षण कार्याक्रम सञ्चालनलगायतका थुप्रै कार्यक्रमहरु गर्दै आएको संस्थाका सचिव महेन्द्रकुमार गिरीले बताए ।
यसैगरी विभिन्न परियोजना अन्तरगत सञ्चालनका लागि तालिम र गोष्ठि, बिभिन्न सरकारी तथा साझेदार संस्थाहरु तथा कार्य समितिबाट समेत नियमित कार्यक्रम र अनुगमन गरिदै आएको बताइएको छ । कार्यक्रममा संस्थाका सचिव महेन्द्रकुमार गिरीले सहारा नेपालको आगामी कार्ययोजना तथा भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अर्जुनधारा नगरपालिका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले सहारा नेपाल साच्चै सवैको सहारा भएको बताएका छन् । कार्यक्रममा सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशीले पनि शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमका बिच संस्थाको उत्कृष्ट कर्मचारीका रुपमा सुरक्षित आवास परियोजनाका संयोजक भीमप्रसाद भेटवाललाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै श्री दुर्गा मावि गरामनीलाई टेलिभिजन र दुर्गेश्वरी कृषि सहकारीलाई एक थान कम्प्युटरसमेत सहयोग गरिएको छ ।
स्वागत संस्थाका उपाध्यक्ष सोमनाथ तिम्सिनाले गरेको कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम व्यवस्थापक मात्रिका सुवेदीले गरेका थिए । बार्षिक साधारणसभा कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।


















