शनिश्चरे, सुखानी ।
पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रत्येक बर्ष नयाँ–नयाँ पर्यटकीय क्षेत्रको खोजी गरी भ्रमण तथा अवलोकन गर्दै आएको श्री पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष सुखानी सहिद पार्कमा १७ औं बार्षिकोत्सव तथा स्थापना दिवस मनाएको छ ।
झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको संस्थाले आज (सोमवार) १७ औं स्थापना दिवसको अवसर पारेर शेयर सदस्यहरुलाई बनभोजसहितको पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकन गराएको हो ।
संस्थाले श्री सुखानी सामुदायिक वन उपभोक्ता समुहको मातहतमा रहेको झापा र इलामको सिमानास्थित सुखानी सहादत स्थलमा बनभोज कार्यक्रमसहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गरेको थियो ।

संस्थाले स्वास्थ्य रहन शारिरिक व्ययामका लागि एक घण्टा योगा गराएको थियो । योगा कार्यक्रम संस्थाका लेखा सुपरिवेक्ष समितिका संयोजक हरिप्रसाद दाहालको संयोजकत्वमा सम्पन्न भएको थियो । त्यस्तै हण्डी फोर, म्युजिकल चियर, वेलुन फुटाई, वल पासिङ जस्ता मनोरन्जात्मक खेलसहित सांस्कृतिक कार्यक्रम गरेको संस्थाका अध्यक्ष युवराज गिरीले जानकारी दिए । मनोरन्जात्मक कार्यक्रममा प्रथम हुनेलाई नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष गिरीले संस्थाको आगामी योजना प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्ष टंकप्रसाद भेटवाल र सचिव इन्द्रनारायण श्रेष्ठले संस्थाका गतिविधिका बारेमा प्रस्ट पारेका थिए ।
इलामको माई नगरपालिका–४ र अर्जुनधारा नगरपालिका–३ सिमानामा रहेको सुखानी सहिद पार्कमा २०२९ फागुन २१ गते तत्कालिन राज्यको सत्ता पक्षले पाँच जनालाई इलाम जेल सार्ने बहानामा हत्या गरेको थियो ।
संस्थाले प्रत्येक बर्ष स्थापना दिवसको अवसर पारेर शेयर सदस्यहरुलाई नयाँ–नयाँ पर्यटकीय स्थलको भ्रमण तथा अवलोकन गराउँदै आएको व्यवस्थापक गंगा सापकोटा बताइन् । उनका अनुसार हाल संस्थामा करिव एक हजार चार सय शेयर सदस्य रहेका छन् भने शेयर पुँजी करिव ९० लाख रहेको छ ।
संस्थाले यस अघिका बर्षहरुमा शेयर सदस्यहरुलाई कोशी बन्यजन्तु पर्यटकीय स्थल, जामुनावारी सिमसार पर्यटकीय क्षेत्रमा भ्रमण तथा अवलोकन गराएर त्यहाँको अवस्थाका बारेमा सदस्यहरुलाई जानकारी गराएको थियो ।


















