झापा । 

कुवेतस्थित नेपाली दूतावासले कुवेतमा विगतका वर्षहरूमा मृत्यु तथा घाइते भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति रकम पठाएको छ । दूतावासले ३४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको क्षतिपूर्ति रकम पठाएको हो ।  नेपाली दूतावासले कानुन व्यवसायीको मद्दतमा गत आर्थिक वर्ष २०८१–०८२ मा क्षतिपूर्ति बापतको बिमा रकम, बाँकी तलब, सेवापश्चात पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त मानवीय सहायता रकम गरी ७३ हजार ८ सय ४७ कुवेती दिनार नेपाल पठाइएको जनाएको छ ।

उक्त रकम सम्बन्धित मृतक तथा घाइतेका कानुनी हकदारहरूले प्राप्त गर्ने गरी दूतावासबाट नेपाल सरकार, परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागमा विभिन्न समयमा पठाइसकिएको दूतावासले जनाएको छ । क्षतिपूर्ति पाउनेमा झापाका किस्कु सत्तारको १ सय २५ केडी, झापाकै जलिना तामाङको १ सय २५ केडी, नवलपरासी पूर्वका हेमबहादुर सुनारीको ५ हजार ५ सय ४७ केडी ३५ पिल्स, बाराकी धनकुमारी थापाको २ सय ४० केडी रहेको छ । 

त्यस्तै क्षतिपूर्ति पाउने अन्यमा रामेछापका अजित शंकरको २ सय ९० केडी, मोरङकी अम्बिका विकको ८ सय केडी, सप्तरीका एमडी दाउदको १ सय २५ केडी, गोरखाका सामेल बारामको १ सय २५ केडी, धनुषाका देवनारायण राउत गदेरीको ६ सय २५ केडी, काभ्रेपलाञ्चोककी अञ्जली तामाङ घिसिङको ६ सय २५ केडी तथा चितवनका विमल लामाको १ सय २५ केडी रहेको छ ।

वैदेशिक रोजगारका क्रममा बीचमै काम छोडेका वा छोडाइएका, दुर्घटनामा परेका नेपाली कामदारले पाउने ठुलो रकम कानुनी प्रतिरक्षा वा नेपाली दूतावासहरूको सक्रियताको अभावमा रोजगारदाता कम्पनीले नै राख्ने गरेका छन् । 

पश्चिमी मुलुकका सञ्चारमाध्यमहरूले यसलाई ‘ज्याला चोरी’ भन्दै कामदारको उचित ज्यालाका लागि कामदार पठाउने मुलुकका सरकार र अधिकारकर्मीहरूले सबै रकम भुक्तानीको आवाजलाई चर्को रूपमा उठाउनुपर्ने बताउँदै आएका छन् ।