हल्दीबारी।

झापाको हल्दीबारीका युवा सामाजिक अभियन्ता अभिषेक खतिवडाले यस वर्ष पनि आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मनाएका छन्। ममबत्ती, केक र औपचारिक उत्सवभन्दा फरक ढंगले जन्मदिनलाई ‘सेवाको अवसर’ का रूपमा उपयोग गर्दै आएका खतिवडाले विद्यालय र बालबालिकाका लागि सहयोग गरेका हुन्।

मङ्गलबार आयोजित कार्यक्रममा उनले श्री पञ्चायत माध्यमिक विद्यालयमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माणका लागि दुई हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरे। उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष गणेश भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य पूर्ण आङ्ग्वो, शिक्षक–अभिभावक संघकी सदस्य चन्द्रमाया पौडेल खतिवडा, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

त्यस अवसरमा खतिवडाले विद्यालयका पाँच जना आर्थिक रूपमा कमजोर, सिमान्तकृत तथा फरक क्षमता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए। उनले विद्यार्थीहरूलाई जन्मदिनलाई फजुल खर्चको दिनका रूपमा नलिई, अवसरका रूपमा प्रयोग गर्न आग्रह समेत गरेका थिए।

युवा उमेरमै सामाजिक रूपान्तरणका अभियानमा सक्रिय खतिवडा नियमित रक्तदाता पनि हुन्। २०८१ सालमा नेपाल रेडक्रस सोसाइटी, झापा शाखाले उनलाई ‘उत्कृष्ट स्वयंसेवा सम्मान’ प्रदान गरेको थियो। रक्तदानदेखि आपतकालीन अवस्थामा बिरामीका लागि रगतको व्यवस्थापनसम्म उनी धेरैका लागि भरपर्दो सहयोगीको रूपमा चिनिँदै आएका छन्।

सामाजिक क्षेत्रमा नै जीवन समर्पण गर्ने सोच राखेका खतिवडा यसअघि पनि विद्यालयलाई खेलकुद सामग्री, शैक्षिक सामग्री, न्यानो कपडा सहयोग तथा रक्तदान कार्यक्रममार्फत जन्मदिन मनाउँदै आएका छन्। स्थानीयका अनुसार उनको नेतृत्व, व्यवहार र सेवाभावले युवा पुस्तालाई प्रेरणा दिएको छ।

हल्दिबारीका विभिन्न सामाजिक अभियानमा उनको निरन्तर सक्रियताले समुदायमा सकारात्मक प्रभाव परेको बताइन्छ। खतिवडा जस्ता युवाहरूले देखाएको यस्तो दृष्टिकोणले सानो समुदायभित्र पनि ठूलो परिवर्तन सम्भव छ भन्ने सन्देश दिएको सरोकारवालाहरूको भनाइ छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्देन तथा विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेलले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै खतिवडालाई शुभकामना व्यक्त गरेका थिए। सगैमा विद्यार्थीले समेत खतिवडालाई सामुहिक जन्मोत्सव को शुभकामना व्यक्त गरेका थिए। विद्यालयलाई रकम तथा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमको सञ्चालन तथा सहजीकरण विद्यालयका शिक्षक रमेश भण्डारीले गरेका थिए।