झापा ।
मंसीर महिनामा ६५ हजार ७ सय ५ जना वैदेहिक रोजगारीमा गएका छन् । प्रमुख श्रम गन्तव्य मुलुक युएईको रोजगार सहज नहुँदा वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा गिरावट आउने क्रम जारी छ । गत कात्तिक महिनामा ७३ हजार ९४ जना वैदेशिक रोजगारमा गएकोमा मंसिरमा उक्त संख्यामा करिब ८ हजारले कमी आएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
मंसिरमा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारमा जानेको संख्या गत कात्तिक भन्दा करिब ६ हजारले बढेको छ । कात्तिकमा म्यानपावरमार्फत १२ हजार १ सय ४९ जना गएकोमा मंसिरमा उक्त संख्या १८ हजार ३ सय ९८ पुगेको छ । वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार जेनजी आन्दोलनपछि प्रमुख रोजगार गन्तव्य युएईमा जाने क्रम बढेको छ । तर प्रहरीले रिपोर्ट प्रमाणित गर्ने क्रममा झन्झट र लागत पनि बढेको छ ।
गत डिसेम्बर ४ सम्म कन्सुलर विभागबाट ५ सय रुपैयाँमा हुने प्रमाणीकरण शुल्क नेपालस्थित युएई दूतावासबाट प्रमाणीकरण गर्न थालिएपछि १४ हजार रुपैयाँ पुगेको छ । प्रक्रियामा ढिलाइ भएकाले कामदार छिटो छरितो रूपमा जान नपाएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।
अर्को मुख्य गन्तव्य मलेसियामा ठुलो संख्यामा जाने म्यानुफ्याक्चरिङ क्षेत्र नखुलेकाले कामदार जान पाएका छैनन् । युरोपेली मुलुकमा सिजनल भिसा भन्दै व्यक्तिगत रूपमा असुरक्षित तरिकाले पठाउने र शरणार्थी आवेदन गर्न उक्साउने क्रम बढेको बताइएको छ ।
- ३२ वटा म्यानपावरले माञ १०० कामदार पठाए
अघिल्ला महिनाहरू भन्दा तुलनात्मक रूपले केही बढी कामदार गएको मंसिर महिनामा एसओएस म्यानपावर सर्भिस प्रालि ४ सय ९४ जना कामदार वैदेशिक रोजगारमा पठाएर धेरै कामदार पठाउने सूचीको शीर्ष स्थानमा छ ।नील कमल ह्युमन रिसोर्स प्रालि ४ सय ४७ र गल्फ म्यानपावर सर्भिसेस प्रालि ३ सय ३० जना पठाएर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अन्य महिनाहरूमा सात दर्जन हाराहारीमा म्यानपावर कम्पनीले एक सय बढी कामदार पठाएकोमा मंसिरमा महिनामा उक्त संख्या ३२ मा सीमित भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।
मंसिरमा संस्थागत रूपमा सबैभन्दा बढी साउदी अरेबियामा ६ हजार ४ सय ४ जना, दोस्रोमा रहेको मलेसियामा ३ हजार ४ सय २३ जना, तेस्रोमा रहेको कतारमा ३ हजार १ सय ४६ जना, चौथोमा रहेको कुवेतमा २ हजार ३ सय १ जना, पाँचौंमा रहेको ओमानमा ७ सय ६६ जना र प्रायः प्रमुख गन्तव्य रहेको युएई छैटौंमा पुगेको छ । युएईपछि रहेको साइप्रसमा ४ सय ८४ जना, बाहराइनमा ४ सय ५५ जना, मरिससमा ३ सय ७९ जना, जोर्डनमा १ सय ९१ जना, जापानमा १ सय ७० जना र बेलायतमा म्यानपावर कम्पनीमार्फत ५ जना कामदार गएका छन् ।
मंसिरमा रिइन्ट्रीका माध्यमबाट ३६ हजार ८७ जना, जीटुजीबाट ८ सय ९७ जना, व्यक्तिगत नयाँ श्रम स्वीकृतिका माध्यमबाट १० हजार २ सय ६६ जना र वैधानिकीकरणका माध्यमबाट ५७ जना गएका छन् । मंसिरमा ७ सय ८५ म्यानपावर कम्पनीले कामदार पठाएका छन् । यस वर्ष साउनदेखि मंसिरसम्म पाँच महिनामा ३ लाख ४१ हजार ४ सय ६७ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् ।


















