बिर्तामोड ।

 बिर्तामोडमा जारी छैटौं वडा स्तरीय फुटबल प्रतियोगिताको शनिबार भएको खेलबाट वडा नं. ३ क्वाटर फाइनलमा प्रवेश गरेको छ । वडा नं. ३ ले वडा न ८ लाई ८–१ गोल अन्तरले पराजित गर्यो । वडा नं। ३ का लागि आशिष चापागाईंले ह्याट्रिकसहित ५ सन्तोष राईले १ र प्रयास बुढाथोकीले २ गोल गरे । वडा नं. ८ का लागि एकमात्र सान्त्वना गोल विवेक राजबंशीले फर्काए ।

खेलको प्लेयर अफ द म्याच वडम नं. ३ का आशिष चापागाईं भए । उनले नगद १ हजार ५ सय रुपैया पुरस्कार प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र आयोजक समितिका अध्यक्ष विकास गिरीले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैया पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।यस्तै, दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा वडा नं. ३ बिजयी भएको छ । वडा नं. ८ का खेलाडी उपस्थित नभएपछि वडा नं। ३ ले वाकओभर पाउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

भेट्रान्स फुटबल प्रतियोगिताका बिजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बुले जानकारी दिए । भेट्रान्स अन्तरगतको आइतबारको भेट्रान्स खेल वडा नं. ६ र वडा नं। ७ बीच हुनेछ ।