बिर्तामोड ।
बिर्तामोडमा शुक्रवारदेखि सुरु छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ७ बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा वडा नं. ७ ले वडा नं. ६ लाई २–० गोल अन्तरले पराजित गर्यो । वडा नं. ७ का फिरोज राईले टिमका लागि २ गोल गरे ।
खेलको प्लेयर अफ द म्याच वडा नं. ७ का फिरोज राई भए । उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । शनिबारको खेल वडा नं. ३ र वडा नं. ८ विच हुने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । शानिवारदेखि यहि (सहिद नेत्र पार्क खेल मैदान) मा दोस्रो नगरस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता सुरु हुने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले झापामा पहिलो पटक नगरस्तरीय खेलकुद समिति गठन गरेर बजेट विनियोजन गर्ने बिर्तामोड नगरपालिका भएको बताइन् । उनले जेनजीका नाममा भएको आन्दोलनले नगरका सबै क्षेत्रसँगै खेलकुद पनि प्रभावित भएकाले प्रतियोगिता केही समयपछि गर्नुपरेको धारणा राखिन् ।
प्रसाईंले जेनजीका नाममा अराजक तत्वले ईतिहासमा दाग लाग्ने काम गरेको आरोप लगाउदै बिर्तामोडको १ अर्ब बजेट कटौती भएको जानकारी दिइन् । उनले खेल क्षेत्रको विकासका लागि नगरले लगानी गर्दै जाने बताइन् । कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड वडा नं. ७ का अध्यक्ष कृष्ण अविरल खरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ लगायतले धारणा राखेका थिए ।
समितिका सदस्य रमेश उप्रतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विसन लिम्बुले गरेका थिए । प्रतियोगितामा झापा गोल्डकप आयोजक समितिका अध्यक्ष केदार गिरी लगायतको उपस्थिति रहेको थियो ।


















