उर्लाबारी ।
देशभर सहकारी क्षेत्रप्रति विश्वास कमजोर बन्दै गएको वर्तमान सन्दर्भमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भने वित्तीय अनुशासन, पारदर्शिता र दिगो विस्तारमार्फत आफूलाई भरोसाको मोडेलका रूपमा स्थापित गर्दै आएको देखिएको छ।
संस्थाका २९ औँ वार्षिक साधारण सभा अन्तरगत उर्लाबारी मंगलबारे एकाई सभामा प्रस्तुत तथ्यांक र योजनाले सहारा नेपाल साकोस अन्य सहकारी भन्दा फरक र जिम्मेवार संस्थाका रूपमा उभिएको सन्देश दिएको छ।
बिहीबार स्थानीय दुर्गा मन्दिरको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन सहकारीका प्रथम उपाध्यक्ष छविलाल खतिवडाले उद्घाटन गरेका थिए । उनले सहकारी भनेको केवल रकम कारोबारको संस्था नभई सदस्यको जीवनस्तर रूपान्तरण गर्ने सामाजिक अभियान भएको उल्लेख गर्दै सहारा नेपालले यही दर्शनलाई व्यवहारमा उतारेको बताए।
२०५२ साल चैत २१ गते ३३ जना शेयर सदस्यबाट ३४ हजार रुपैयाँ पूँजी संकलन गरी तीन वटा तत्कालीन गाविसबाट सुरु भएको सहारा नेपाल आज लाखौँ सदस्यको आर्थिक आधार बनेको छ। वार्षिक प्रतिवेदनअनुसार २०८२ साल असार मसान्तसम्म आइपुग्दा संस्थामा १ लाख ९२ हजार २ सय ४० जना शेयर सदस्य पुगेका छन् भने शेयर पूँजी १ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ।
संस्थाको कुल बचत निक्षेप १४ अर्ब १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कुल सम्पत्ति तथा पूँजी दायित्व १८ अर्ब ५६ करोड रुपैयाँभन्दा माथि रहनु, ३२ करोडभन्दा बढी नाफा आर्जन गर्नु र सबैभन्दा महत्वपूर्ण रूपमा कुनै पनि बाह्य ऋण नरहनु सहकारी क्षेत्रमा दुर्लभ मानिने उपलब्धि हो। यी तथ्य सदस्य–सचिव महेन्द्रकुमार गिरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा समेटिएका छन्।
विशेषज्ञहरूका अनुसार हाल देशभर देखिएको सहकारी संकटको मूल कारण अव्यवस्थित लगानी, अपारदर्शिता र बाह्य ऋण निर्भरता हो। यही पृष्ठभूमिमा सहारा नेपालले शून्य बाह्य ऋण, उच्च बचत र स्थिर नाफा कायम गर्नु यसको व्यवस्थापन प्रणाली र नेतृत्व क्षमताको प्रत्यक्ष प्रमाण मानिन्छ।
संस्थालाई अझ प्रभावकारी र उत्तरदायी बनाउन निरन्तर अनुगमन र सुधार आवश्यक रहेको दुधे सेवा केन्द्रका अनुगमन प्रमुख चुडामणि कट्टेलले बताए। उनले सदस्यहरूको सुझाव र सक्रिय सहभागिताले मात्रै सहकारी अभियान बलियो हुने उल्लेख गरे ।
अध्यक्ष हरिबहादुर राजबंशीको वार्षिक प्रतिवेदनमा सहारा नेपाल अब केवल वित्तीय कारोबारमा सीमित नरही सामाजिक र सीप विकासको अभियानमा अघि बढ्ने स्पष्ट छ। संस्थाले कार्यक्षेत्रभित्रका सबै स्थानीय तहका वडामा सेवा विस्तार गरी सदस्य संख्या २ लाख ५० हजार पुर्याउने, ३० प्रतिशत परिवारमा वित्तीय पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
आगामी दिनमा शेयर पूँजी २ अर्ब, बचत २० अर्ब, ऋण लगानी १८ अर्ब र कुल वासलात २५ अर्ब पुर्याउने लक्ष्यसहित सहकारीलाई दीर्घकालीन रूपमा सुरक्षित र सुदृढ बनाउने योजना प्रस्तुत गरिएको छ। साथै, १० प्रतिशत शेयर सदस्यलाई जीवन उपयोगी सीपमूलक तालिम प्रदान गर्ने, ऋण असुली शतप्रतिशत कायम राख्ने र सेवामार्फत सदस्यको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने रणनीति संस्थाको प्राथमिकतामा रहेको अध्यक्ष राजबंशीको वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ।
शेयर सदस्य संख्या, पूँजी संरचना, बचत, कर्जा लगानी, जगेडा कोष र आय–व्ययको सन्तुलनका आधारमा सहारा नेपाल देशकै अग्रणी सहकारी संस्थामध्ये एक बनेको छ। ‘मेरो गौरव मेरो सहारा, सबैको लागि सधैंका लागि’ भन्ने मूल नारासहित सहकारी सिद्धान्तअनुसार आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर उकास्ने लक्ष्य बोकेको यो संस्था जिल्ला सहकारी कार्यालय भद्रपुर, झापामा दर्ता रहेको छ।
मंगलबारे इकाईका अध्यक्ष रामप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट बचतकर्ता तथा जिम्मेवार ऋण कारोबारी शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। यसले सदस्यहरूमा वित्तीय अनुशासन र सकारात्मक प्रतिस्पर्धाको संस्कार विकास गर्न सहयोग पुगेको मंगलबारे एकाईका व्यवस्थापक त्रिलोचन तिम्सिनाले जानकारी दिए।
हाल झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर जिल्लामा कार्यक्षेत्र फैलाएको सहारा नेपालका ८० वटा सेवा केन्द्र सञ्चालनमा छन्। सहकारी क्षेत्रप्रति बढ्दो अविश्वासका बीच सहारा नेपालको स्थिरता, पारदर्शिता र योजनाबद्ध विस्तारले ‘सहकारी पनि सुरक्षित र भरपर्दो हुन सक्छ’ भन्ने सन्देश दिएको छ।


















