झापा । 

वैदेशिक रोजगारका लागि दिएको रकम फिर्ता माग्दा एक युवकको गोली हानी हत्या भएको छ । दाङको तुलसीपुर उप–महानगरपालिका–५ का २८ वर्षीय निरज चौधरीको आइतबार बिहान बर्दियाको राजापुरस्थित एक रेस्टुरेन्टमा गोली प्रहारबाट हत्या भएको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको र हत्याका मुख्य अभियुक्त ठानिएका हमार थारु घर एन्ड रेस्टुरेन्टका सञ्चालक फरार रहेको जनाएको छ ।

निरजलाई फरार रहेका आरोपीले विदेश पठाइदिने भनेर लगेको रकम फिर्ता माग्दा विवाद भई गोली हानेर होटल सञ्चालक फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो ।

यसैबीच वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले कञ्चनपुर बेदकोटका भीमबहादुर महरलाई पक्राउ गरेको छ । उनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट दुई लाख लिई सम्पर्कविहीन भएको उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।