झापा ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै १४ करोड बढी ठगी गरेको उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुर हेटौंडा स्थायी घर भई हाल ललितपुर बस्दै आएका शम्भु दयाल अग्रवाललाई पक्राउ गरेको हो । एकै व्यक्तिविरुद्ध १४ करोड बढीको वैदेशिक रोजगार ठगीको उजुरी परेको हो ।
प्रहरीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएका ५२ वर्षीय अग्रवाललाई ललितपुरबाट पक्राउ गरिएको जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।


















