बिर्तामोड ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखाको सातौं बार्षिक साधारणसभा तथा चौथौं अधिवेशन बिर्तामोडमा भएको छ । विदेशमा अध्यापनका लागि जाने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने कन्सल्टेन्सीहरुको साझा संस्थाको रुपमा रहेको संघले आज (शुक्रवार) झापाको बिर्तामोडमा सातौं बार्षिक साधारणसभा तथा चौथौं अधिवेशन गरेको हो ।
इक्यान झापाका अध्यक्ष इ.रोशन सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा इक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले संघको झापा शाखाले उत्कृष्ट कार्य गरेको भन्दै इक्यान झापाका अध्यक्ष सुवेदीसहित पदाधिकारी सदस्यहरुको प्रशंसा गरेका छन् ।

कार्यक्रमका बिशिष्ठ अतिथि सहायक जिल्ला प्रमुख अधिकारी तेजप्रकाश प्रसाईले शैक्षिक परामर्शका नाममा केही गलत व्यक्तिहरुले बिद्यार्थीहरुको भविश्यमाथि खेलवाड गर्ने सम्भावना भएकाले त्यसलाई नियन्त्रण गर्न इक्यान झापा र प्रशासनले समन्वय गर्नुपर्ने बताए ।
कार्यक्रममा इक्यानका केन्द्रिय निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले संघमा आवद्ध शैक्षिक परामर्श केन्द्रहरुले आर्थिक प्रलोभनमा परेर कुनैपनि गलत कार्य नगरेको र आगामी दिनमा पनि गर्न नहुने बताएका छन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी बिजय श्रेष्ठ, जिल्ला खेलकूद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त), इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा इक्यान झापाका अध्यक्ष इ. रोशन सुवेदीले आफ्नो कार्यकाल सफल बनाउन साथ र सहयोग गर्नुहुने पदाधिकारी तथा सदस्यसहित सम्पूर्णलाई हार्दिक आभारसहित धन्यवाद दिएका छन् । उनले हाल इक्यान झापामा ५१ वटा परामर्श केन्द्रहरु सदस्य रहेकोसमेत जानकारी दिए ।
स्वागत इक्यान झापा उपाध्यक्ष राजकुमार कार्कीले गरेको कार्यक्रमको सञ्चालन महासचिव अशोक भण्डारीले गरेका थिए । इक्यानले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आज बिहान रक्तदान कार्यक्रमसमेत गरेको थियो । इक्यानको बन्दसत्रले आगामी कार्यालयको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।


















