सुरुङ्गा ।
हरेक सामाजिक कार्यमा सक्रिय रहँदै आएको झापाली समाज कतारले एकै परिवारका चार जना घातक रोगलाई आर्थिक सहयोग गरेको छ । समाजले झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित सिर्जना टोलको मगर परिवारलाई नगद ५२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
केही दिन अघि शब्दपत्र डटकम र पूर्वाञ्चल दैनिकमा ‘कनकाईमा अति विपन्न एउटै परिवारका ४ जनालाई घातक रोग, ८३ बर्षिया बृद्धा स्यारसुसार गर्दै’ शीर्षकमा समाचार तथा भिडियो प्रकाशन भएपछि झापाली समाज कतारले रकम संकलन गर्न शुरु गरेको झापाली समाज कतारका महासचिव बिमल भारतीले जानकारी गराएका थिए ।

संकलित ५२ हजार रुपैयाँसहित फलफूल आज (आइतवार) झापाली समाजका संस्थाक अध्यक्ष गणेश काफ्ले, संस्थापक कोषाध्यक्ष पिताम्बर निरौला, पूर्व महासचिव सुदर्शन रोक्का, समाजका वर्तमान सदस्य भूपेन्द्र भारती, नेत्रप्रसाद मिश्र, कनकाई उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष जनक कार्कीलगायतको टोलीले पिडीत मगर परिवारको घरमै पुगेर हस्तान्तरण गरेको हो ।
घरमा रहेका पाँच जना परिवार मध्ये चार जना जटिल रोगको शिकार भएसँगै उनीहरुको स्यारसुसार ८३ बर्षिया बृद्धाले गरिरहेकी छिन् । घरसम्म नगरपालिकाको मेयर आवास कार्यक्रम अन्तरगत ती परिवारका भाईले दिएको भिट्टामा निर्माण भएको छ । पाँच जनाको परिवार रहेको उक्त मगर परिवारमा घरमुलीसहित चार जनालाई घातक रोग लागेको थियो भने उनीहरुको स्यारसुसार ८३ बर्षिया धनमाया मगरले गरिरहेकी थिइन् । तर, करिव २ महिना अघि घरमुली ५४ बर्षिय कर्णबहादुर मगरको मृत्यु भइसकेको छ । उनी सुगर रोगका कारण दुवै आँखा नदेख्ने अवस्था थिए ।
हाल उक्त परिवारकी छोरी २० बर्षिया किरण मगर हातको औलामा क्यान्सर भएको छ भने करिव एक बर्षअघिदेखि आमा ५० बर्षिया रितादेवी मगरको दुई वटै मृगौला खराव भएर डायोलोसिस गरिरहेकी छिन् । एक बर्ष अघि नै छोरा १८ बर्षिया रोहन मगरको फूटवल खेल्ने क्रममा खुट्टामा समस्या भएर अपाङ्तासँगै सुगर पनि भएको बताइएको छ ।
मगर परिवारमा काम गर्ने सवै घातक रोगको शिकार भएपछि ८३ बर्षिया धनमायाले उनीहरुलाई सकीनसकी स्यारसुसार गरिरहेकी छिन् । सम्पत्तीको नाममा नगरपालिकाले अर्काको जग्गामा बनाइदिएको घर बाहेक केही नभएको मगर परिवार अहिले स्थानीय छरछिमेक र दाताहरुले दया मायाले दिदै आएको खाद्यन्न र रकमले घर चलाउन बाध्य छ ।
रकम हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै समाजका संस्थापक अध्यक्ष गणेश काफ्लेले समाजले झापाका प्रत्येक सामाजिक गतिविधिमा सहभागीता जनाएर सामाजिक कार्य गरेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन कार्य समितिलाई आग्रह गरेका छन् ।
कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा बर्देवाले स्थानीय तहबाट गर्न सक्कने सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताइन् । यस्तै कनकाई बाणिज्य संघका कार्यबहाक अध्यक्ष तथा समाजका पूर्व सदस्यसमेत रहेका जनक कार्कीले पनि संघ र आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । सहजीकरण समाजका पूर्व महासचिव सुदर्शन रोक्काले गरेको सहयोग हस्तान्तरण कार्यक्रममा परिवारको तर्फबाट झापाली समाज कतारका पूर्व महासचिव तथा परिवारका आफन्त बिजयकुमार मगरले समाजलाई धन्यवाद ब्यक्त गरेका थिए ।
कार्यक्रममा समाजका सल्लाहकार लंक दर्नाल, पूर्व कार्य समिति सदस्य बिष्णु बन्जारा, करण सिलवाल, कनकाई–५ स्वास्थ्य केन्द्र प्रमुख पवित्रा याक्सोलगायतको उपस्थिति रहेको थियो ।


















