बिर्तामोड । 

झापा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सातौ अर्थात अन्तिम इकाइगत साधारण सभा सम्पन्न गरेको छ । झापाको बिर्तामोडमा आज (बिहीवार) संस्थाको १५ औँ साधारण सभा अन्तर्गतको सातौँ इकाइगत सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुवास भट्टराईले इकाइगत साधारण सभाको उद्घाटन गरेका थिए ।

अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले गत असोज ३ गते इलाम, असोज ४ गते मोरङको मंगलबारे, असोज ५ गते पाडाजुँगी, असोज ६ गते सुरुङ्गा, असोज ७ गते चन्द्रगढी, असोज ८ गते धुलावारी र सातौं अर्थात अन्तिम इकाईगत साधारणसभा आज बिर्तामोडमा गरेको जानकारी दिए । उनका अनुसार इकाईगत साधारणसभामा पायक पर्ने सेवाकेन्द्रहरुलाई समेटेर गरिएको छ । 

आगामी असोज ११ गते शनिवार इकाईगत साधारणसभाबाट छनौट भएका प्रतिनिधिसहित बिर्तामोडमा मुल माइन्यूट प्रमाणीकरण गरिने अध्यक्ष भट्टराईले बताए । इकाइगत साधारण सभामा सात जना उत्कृष्ट ऋणी र सात जना बचत कर्तालाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता गीता पाठक, नर्मदा भट्टराई, हेमचन्द्र तामाङ, रञ्जिता ठाकुर, मनिषा श्रेष्ठ, कल्पना तामाङ र कृष्णबहादुर बस्नेत रहेका छन् । त्यस्तै उत्कृष्ट ऋणीमा डम्बरबहादुर गौतम, चेतनाथ पौडेल, नरप्रसाद हकाल, प्रकाश बाँस्कोटा, कञ्चन प्रोतेल र राजेन्द्र राई रहेका छन् । 

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार ४६ वटा सेवा केन्द्रबाट ९२ जना उत्कृष्ट ऋणी र उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको छ । यसैगरी स्वास्थ्य उपचार अन्तरगत शोभा चुडाललाई २७ हजार, मुना फुयाललाई १० हजार १२५ रुपैयाँ, शान्ति राजवंशीलाई २० हजार २५० रुपैयाँ र ममता शाहलाई सहयोग रकम उलब्ध गराइएको छ । 

इकाईगत साधारण सभामा स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै संस्थाले गत आर्थिक वर्षमा  उत्साहजनक उपलब्धि हासिल गरेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी गराएका थिए । गत आर्थिक वर्षमा ३८ करोड बढी वासलात वृद्धि भएर ३ अर्ब ३३ करोड पुगेको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए । संस्थाको हाल ६९ हजार बढी सेयर सदस्य रहेका छन् । 

संस्थाले गत आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ  सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको संस्थाका कार्यकारी प्रमुख बस्नेतले बताए । संस्थाले सदस्यहरूलाई स्वास्थ्य उपचार, कर्जा मिनाहा, काजक्रिया खर्चबापत लाखौँ रुपैयाँ खर्च गरेको जनाएको छ । इकाइका साधारण सभाले प्रतिनिधि छनोट गरेको छ । इकाइगत साधन सभाको सञ्चालन संस्थाका जनसम्पर्क अधिकारी प्रेम बस्नेत (विजय) ले गरेका थिए । 

कार्यक्रममा संस्थाका सचिव इन्द्रबहादुर कार्की, सञ्चालक सदस्य लीला मुखिया अधिकारी, शशीकला मुखिया, प्रकाश भट्टराईलगायत शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । चार वटा जिल्ला कार्यक्षेत्र रहेको साकोसले ४६ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गर्दै आएको छ ।