झापा ।
जेनजी आन्दोलनका क्रममा घाइते भएकाका लागि झापाबाट रगत काठमाडौं पठाइएको छ । आन्दोलनका क्रममा काठमाडौंमा घाइते भएर बिभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौ पठाएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालका अनुसार वुद्ध एयरको आज बिहान ७ः१५ को फ्लाईट मार्फत रगत काठमाडौं पठाइएको हो । सोमवार काठमाडौंमा भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौं पठाइको सभापति ढकालले जानकारी दिए ।
जेनजी पुस्ताले सोमवार झापामा समेत आन्दोलन गरेका थिए । झापाको दमक र बिर्तामोडमा आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए भने बिर्तामोडमा जेनजी पुस्ताले बिर्तामोड नगरपालिका तोडफोडको प्रयास गरेका थिए ।
सोमवार साझ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पुरानो भवन आगजनी गरेसंगै जिल्ला प्रशासन कार्यालय झापाले सोमवार रातिबाट आज विहान ५ वजे सम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञ जारी गरिएको थियो । निषेधाज्ञ आज विहानबाट हटाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।


















