शनिश्चरे । 

अर्जुनधारा नगर खेलकुुद विकास समितिले खेलाडी तथा प्रशिक्षकलाई सोमवार सम्मान गरेको छ । १५ ओैं राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगितामा नगरपालिकालाई जिल्लामा प्रथम बनाउन सफल खेलाडी, प्रशिक्षक र अफिसियललाई नगदसहित सम्मान गरिएको हो ।

गत माघ १२ गतेदेखि फागुन २५ गतेसम्म आयोजना भएको राष्ट्रपति रनिङ शील्डमा अर्जुनधाराले १५ वटा स्वर्ण, १२ वटा रजत, १२ वटा काश्य पदक हात पारेको थियो । जिल्लामा प्रथम भएको नगरले खेलाडीलाई सम्मान गरेको छ ।

एथलेटिक्स, मार्सल आर्ट, कवडी र भलिवल खेलमा अर्जुनधाराले प्रथम स्थान हासिल गरेको थियो । यो समेत गरेर अर्जुनधारा नगरपालिकाले तेस्रो पटक जिल्लामा प्रथम भएको छ । लगातार तेस्रो पटक प्रथम भएको नगरपालिकाले प्राप्त गरेको रनिङ शील्ड फिर्ता गर्नु पर्दैन ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बलदेबसिंह गोम्देन तामाङले खेलकुद अतिरिक्त क्षेत्र नभएर अनिवार्य विषय भएको बताएका छन् । बालबालिकाको रोजाई अनुसार खेलकुद र शिक्षा क्षेत्र छनौट गरेर अघि बढ्ने वातावरणमा बनाउनु पर्ने उनको भनाई छ । उनले मुलुक चिनाउने माध्यम खेलकुद भएको बताउँदै खेल खेलेरै व्यवसायिक करियर बनाउन सुझाव दिए ।

कार्यक्रममका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख वलदेव, उप–प्रमुख खड्गमाया पराजुलीलगायतले खेलाडी, प्रशिक्षक र अफिसियललाई नगदसहित सम्मान गरेका थिए । 

 अर्जुनधारा नगर खेलकूल विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य तीलक योन्जनले गरेका थिए भने सञ्चालन सचिव खगेन्द्र लिङ्देनले गरेका थिए । कार्यक्रममा सदस्य सचिव निर्मला पोखरेलले प्रतियोगिताको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।