बिर्तामोड ।
सुविधा सम्पन्न झापा बिर्तामोडको वीएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा घातक आठ प्रकारका रोगीले दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा पाउने भएका छन् ।
नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत गत साउन १ गतेदेखि जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचार सुविधामा एक लाख थप गरी दुई लाखसम्मको निःशुल्क उपचार सेवा पाउने भएका हुन् ।
नेपालकै सबैभन्दा सर्वसुलभ, गुणस्तरीय तथा अत्याधुनिक उपकरणसहितको बीएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा दुई लाख रुपैयाँसम्मको निःशुल्क सेवा प्राप्त गर्न सकिने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताएका छन् ।
अस्पतालमा मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सुविधा निःशुल्क पाउने गिरीले जानकारी दिए ।
गिरीका अनुसार साउन १ गतेदेखि स्वास्थ्य वीमा बोर्डले बिभिन्न आठ प्रकारका घातक रोगीहरुलाई लक्षित गरेर २ लाख रुपैयाँसम्मको उपचार सुविधा थैली कार्यक्रम ल्याएको छ । जुन वीएण्डसी अस्पतालमा लागू गरिएको छ ।
एक लाख रुपैयाँसम्मको उपचार सुविधा सकिएपछि सम्बन्धीत चिकित्सक र स्थानीय पालिकाको सिफारिसको आधारमा जिल्ला वीमा बोर्डको कार्यालय मार्फत उपचार सुविधा थैलीमा थप एक लाख रुपैयाँ हुने र उपचार सुविधा लिन सकिने गिरीको भनाई छ ।


















