झापा ।
नेपाल शिक्षक महासंघले केही बुँदामा सहमति भन्दा ठिक उल्टो व्यवस्था गरिएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । शिक्षक महासंघले आन्दोलनभन्दा पहिले चरणबद्ध रूपमा दबाबमूलक कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। भदौं ११ गतेदेखि सुरु हुने पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत प्रधानमन्त्री, शिक्षामन्त्री, दलका प्रमुख सचेतक र पार्टी कार्यालयहरूमा ज्ञापनपत्र बुझाइनेछ। साथै, हरेक दिन विभिन्न दलका कार्यालय अगाडि दुई घण्टासम्म धर्ना दिइनेछ।
यदि यति गर्दा पनि आवाज नसुनिए २१ भदौमा थप सशक्त आन्दोलनको घोषणा गर्ने महासंघले चेतावनी दिएको छ । नेपाल सरकारअन्तर्गत संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गरिएको शिक्षासम्बन्धी विधेयकप्रति नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकमा महासंघसँग भएका अघिल्ला सहमति उल्लंघन भएको र शिक्षकहरूको माग बेवास्ता गरिएको आरोप लगाएका छन्।
संसद्को समितिले पारित गरेको विधेयकमा केही बुँदा सहमतिअनुसार समावेश गरिएका भएपनि धेरै महत्त्वपूर्ण बुँदा पूर्ण रूपमा बेवास्ता गरिएका अध्यक्ष सुवेदीको भनाई छ । उनका अनुसार अस्थायी शिक्षक, ईसीडी, विद्यालय कर्मचारी, राहत शिक्षकलगायतका विषयमा सम्बोधनको प्रयास नै गरिएको छैन। कतिपय बुँदामा त सहमति विपरित व्यवस्था गरिएको छ।
शिक्षक महासंघले शिक्षा क्षेत्रमा देखिएका दीर्घकालीन समस्याहरू समाधानका लागि सरकारसँग विगतदेखि संवाद गर्दै आएको जनाएको छ। तर, पछिल्लो विधेयकले सहमतिको अपमान गरेको भन्दै अब दबाब दिनुको विकल्प नरहेको महासंघको भनाइ छ।फाइनल तस्वीर


















